आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना, चिसो हावा समेत चल्ने

 माघ ९, २०७९ सोमबार ७:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको अनुमान गरिएको छ । पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा आज राति पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति हल्का वर्षा मात्रै हुने सम्भावना छ ।

भोलि दिउँसाेदेखि भने हिमपात र वर्षाको मात्रा बढ्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव गण्डकी प्रदेशसम्म पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसँगै भोलि गण्डकी प्रदेशका थोरै ठाउँमा पनि वर्षा र हिमपात हुने मौसमविद् अधिकारीले बताउनुभयो । यो प्रणालीकै कारण चिसो हावासमेत चल्ने उहाँले बताउनुभयो । हावा चल्ने हुँदा यी प्रदेशमा अबको केही दिन हुस्सु कुहिरो हट्ने छ ।

मौसम विज्ञान विभागले आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीवारसम्म काठमाण्डाै लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने भोलिपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसपालिको हिउँदमा बितेको ३० वर्षयताकै सबैभन्दा कम वर्षा भएको जनाइएको छ ।

विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो । सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आज दिउँसाे भने देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया