छोटो समयमै लोक सङ्गीतमा जमेका अर्जुन सापकाेटा

 फागुन ६, २०७९ शनिबार १२:३०:४९ | प्रेमनारायण आचार्य
unn.prixa.net

छोटो समयमै लोक गायक अर्जुन सापकोटाले लोक सङ्गीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन् । गायक अर्जुनका ‘वनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’जस्ता गीतहरू ‘करोड क्लबमा’ पुगेर छुट्टै पहिचान दिन सफल भए ।

भिडियोसहित अर्जुनले ‘वनकी चरी’ गीत  ३ वर्षअघि आफ्नो नयाँ युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका थिए । यद्यपि गीतले गज्जबै गर्यो, युट्युब एवम् टिकटक दुवैतिर चल्यो । अर्जुन भन्छन्, ‘त्यस गीतले मलाई चिनाउनमा धेरै नै मद्दत गर्यो ।’

‘दशैँ आयो’, ‘जन्मेकै गाउँ रोयो’ गीत गाएँ, चल्यो । ‘सिमलैमा मैना’, ‘नगर पीर माया’, ‘पिरती नलाम माया’ गीतहरू पनि चल्यो । यी गीतमा अर्जुनको स्वरसँगै सङ्गीत पनि छ । त्यसपछि समीक्षा अधिकारीसँग गाएको गीत ‘पछ्यौरी लिसियो’ निकै नै चर्चित बन्यो । सङ्गीत समेत अर्जुनकै रहेको गीतको भिडियोले युट्युबमा झण्डै ३ करोडभन्दा बढी भ्युज पाएको छ । त्यसपछि राजु परियार, कमला घिमिरे लगायतसँग गाएको ‘फुल्यो गुराँस’ पनि चल्यो । त्यसपछि ‘दुई दुना चार’ बोलको गीत पनि ‘करोड क्लब’मा प्रवेश गर्यो । 

२०५५ सालको माघ १२ मा स्याङ्जाको पेलाकोट मान्थुम्कामा जन्मिएका अर्जुन सापकोटा ५ वर्षको उमेरमा नै बुबा आमासँग नवलपुर आएका थिए । स्थायी बसोबास नवलपुरमा भए पनि उनले विदेशका विभिन्न देशसँगै स्वदेशमा पूर्वदेखि पश्चिमसम्मका थुप्रै जिल्लाहरूमा पुगेर हजारौँ स्रोता/दर्शकमाझ साङ्गीतिक प्रस्तुति दिइसकेका छन् । उनले स्वर दिएका गीतहरूको सङ्ख्या भने ३ दर्जनभन्दा बढी पुगेको छ । मोडलिङ गरेका गीतको सङ्ख्या पनि डेढ दर्जनभन्दा बढी छन् ।

यतिबेला सार्वजनिक गर्नका लागि पाइपलाइनमा पनि थुप्रै गीतहरू छन् । ‘मेरो आफ्नै युट्युब च्यानलबाट आउने गरी ५ वटा गीत तयार हुँदैछन् । अरु कम्पनीहरूको गीत पनि आउनेवाला छन्,’ उनले भने । प्रतिभा छ र समयलाई बुझेर मेहनत गर्न सके गीतसङ्गीतमा राम्रो आम्दानी हुने गरेको अर्जुनको बुझाइ छ । ‘डिजिटल प्लेट फर्म बढिरहेका छन् । त्योसँगै गीतसङ्गीतमा आम्दानीका स्रोतहरू पनि बढिरहेका छन्,’ उनी भन्छन्, ‘प्रविधि बुझ्न सकियो, त्यहीअनुसार अगाडि बढ्न सकियो भने आम्दानी पनि राम्रो गर्न सकिन्छ भन्ने लाग्छ ।’

‘मेरो पारिवारिक माहोल नै सङ्गीतमय छ,’ अर्जुनले भने, ‘घरमा सबैजना हुँदा मज्जाले दोहोरी जम्छ ।’ चर्चित अरु पनि थुप्रै गीतहरू छन्, जसमध्ये पछिल्लो गीत चाहिँ ‘ए ठूली’ हो । दुई महिनाअघि सार्वजनिक भएकाे याे गीतले ३३ लाखभन्दा बढी भ्युज पाइसकेको छ युट्युबमा । टिकटकमा हजारौँ भिडियोहरू बनेका छन् ।

अर्जुन गायक मात्र होइनन्, गीत लेख्छन् । भाका बनाउँछन् । गीतको म्युजिक भिडियोमा मोडलिङ समेत गर्छन् । ‘मोडल बन्छु भनेर मोडलिङमा होमिएको चाहिँ होइन है ! सङ्गीतको विद्यार्थी भएको हुनाले आफ्नो फिल्डमा पर्ने कुराहरू सिक्न मन लाग्दो रहेछ,’ उनी भन्छन्, ‘त्यसले आफैँलाई फाइदा पनि गर्दो रहेछ ।’ ‘बुबाले पहिल्यैदेखि गीत लेख्ने, गाउने गर्नुहुन्थ्यो । यद्यपि परिस्थितिले उहाँले त्यसबेला रेकर्ड गर्न पाउनुभएन,’ अर्जुनले सुनाए, ‘तर मलाई गीत–सङ्गीतमा लाग्न सानैदेखि प्रेरित गर्नुभयो ।’ उन‍ले सानैदेखि स्वर खिपेर गाउन थाले ।

अर्जुनका बुबा मणि सापकोटा पहिल्यैदेखि गीत सिर्जना गर्ने, गाउने गर्थे । बुबाले सिर्जना गरेका गीतहरूमा चर्चित गायक/गायिकाहरूले समेत स्वर दिइसकेका छन् । अर्जुनले पनि ‘परदेशीको पीडा’ बोलको तीज गीतमार्फत् बुबासँग पहिलोपटक साङ्गीतिक सहकार्य गरे । बुबाको शब्दमा छोराको स्वर, गीतले युट्युबमा राम्रो भ्युज पायो । त्यसयता बुबाले लेखेका अन्य गीतमा पनि स्वर भरे अर्जुनले । त्यसबखत जिल्लासँगै बाहिरका साङ्गीतिक कार्यक्रमहरूबाट समेत उनलाई निम्तो आउन थालिसकेको थियो । 

आजको दिनमा आउँदा साङ्गीतिक क्षेत्रबाट खुशी छन् अर्जुन । निःसन्देह उनको सफलतामा बुबाआमा अझ बढी खुशी होलान् ! त्यसैले त अर्जुनले बेलाबखत अल्छी गर्दा बुबाले झक्झक्याइरहन्छन्, ‘यसरी भएन है ! अलि मेहनत गर्नुपर्यो भनेर भन्नुहुन्छ । मलाई साङ्गीतिक क्षेत्रमा गाइड गर्ने पहिलो व्यक्ति नै बुबा हुनुहुन्छ।’ उनले भने ।  आफ्नो गीतको पहिलो स्रोता एवम् दर्शक नै बुबा रहेको उनी बताउँछन् ।

देख्दा चुलबुले, चञ्चले लाग्ने उनी बुझेपछि एकदमै मिलनसार लाग्छन् । लोकदोहोरी गायकहरू भन्छन्, ‘अग्रजदेखि नयाँ सबैसँग सजिलै घुलमिल हुन सक्ने पनि उसको विशेषता छ।’

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया