निगमको ४ ट्याङ्कर डिजलमा मिसावट भेटिएपछि छानबिन सुरु

 फागुन १४, २०७९ आइतबार २०:२५:१३ | रासस
unn.prixa.net

काठमाण्डौ – भारतको सिलिगुढीमा रहेको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजलमा मिसावट भेटिएपछि छानबिन सुरु भएको छ ।

नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आज आइतवारदेखि छानबिन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीम रहेको आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग सोधपुछ गरेको छ ।
    
निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजलमा मिसावट भएको आशङ्का गरिएको छ । ‘केन्द्रबाट आउनुभएको छानबिन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको छ’, उहाँले भन्नुभयो ।

नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे १ ख २१५१, उत्तरगङ्गा यातायात प्रालीका नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सका नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजलको गुणस्तर जाँच्दा मिसावट भेटिएको आयल निगमले जनाएको छ । ती ट्याङ्कर अहिले चारआलीमा रहेको निगमको शाखा कार्यालय परिसरमा पार्किङ गरेर राखिएको छ । भारतबाट ट्याङ्करबाट ल्याइएको पेट्रोलियम पदार्थ निगमको शाखामा गुणस्तर जाँचेपछि सिधै बिक्रेता पेट्रोल पम्पमा पठाउने चलन छ ।

निगमको केन्द्रीय कार्यालयकी प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठन भएको छानबिन समितिले आजदेखि छानबिन थालेको हो । छानबिन समितिको सदस्यमा निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य हुनुहुन्छ ।

भारतमा नेपालको तुलनामा मट्टीतेलको मूल्य कम रहेको छ । अझ सरकारी कोटाको मट्टीतेल झनै सस्तो हुने गर्दछ । नेपाल ल्याइएको डिजलमा भारतको सस्तो मट्टीतेल मिसाइएको हुनसक्ने आशङ्का गरिएको छ ।

पूर्वी नाका काँकरभिट्टाबाट भारतको सिलिगुढी डिपो ३५ किमी टाढा रहेको छ भने चारआली डिपो १५ किमीमा छ । भारतमा इन्धन लोड गरिएपछि लगाइएको ट्याङ्करको च्याम्बरको चाबी निगमका कर्मचारीसँग मात्र हुने गर्दछ ।

चारआलीमा रहेको निगमको कार्यालयले नवदुर्गा आयल स्टोर्सको ट्याङ्करमा आएको डिजलको घनत्व आठ सय १३ किलो प्रतिघनमिटर मापन गरेको थियो । जबकि त्यही तेल भारतको सिलिगुढीमा लोड गर्दा आठ सय २९ किलो प्रतिघनमिटर मापन गरिएको थियो । निगमले अढाई किलो प्रतिघनमिटरसम्मको घटबढलाई मात्र मान्यता दिने गरेको छ ।

सिलिगुढीबाट चारआली आइपुगेका चार वटै ट्याङ्करको डिजलको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टीतेल मिसावटको आशङ्का गरिएको हो । मट्टीतेलको औसत घनत्व सात सय ९० किलो प्रतिघनमिटर हुने गर्दछ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Raman kumar pandey

    Feb. 26, 2023, 8:38 p.m.

    छानबीन हेतु निगम से बाहर का उच्चस्तरीय कमिटी बनाते हुए राष्ट्र हित में , भ्रष्टाचारी को आजन्म कारावास का सजा करबाय सरकार ..

  •  0 Reply

तपाईको प्रतिक्रिया