आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
नवलपुर : पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ वटा 'अन्डरपास' निर्माण गरिने भएका छन् ।
सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल) मा १३ गरेर जम्मा ३५ वटा अन्डरपास तयार हुने आयोजनाका व्यवस्थापक राकेश झाले बताउनुभयो ।
वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला गरेर ३५ वटा अन्डरपास निर्माण गरिने झाले जानकारी दिनभयो । उहाँका अनुसार ती अन्डरपासमध्ये कतिपय ठूला पुल र कल्भर्टलाई अन्डरपासका रूपमा बनाइएको छ भने पुल र ठूला कल्भर्ट नभएका ठाउँमा अन्डरपासकै संरचना बनाइने छ ।
यसरी निमार्ण गरिने अन्डरपास तीनदेखि १२ मिटरसम्म उचाइ र आवश्यकताअनुसार १६ मिटरसम्म फराकिलो हुने झाले बताउनुभयो । यसरी निर्माण गरिने अन्डरपासमा वन्यजन्तुको निगरानी गर्न क्यामेरा राख्ने गरी निर्माण गरिने झाले जानकारी दिनुभयो ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा ओभरपासको व्यवस्था नभएको भए पनि दातृ निकाय एसियाली विकास बैंकले दुम्किबासको विनयी खोलाको पुलभन्दा केही पूर्वतर्फ एउटा ओभरपास बनाउनुपर्ने आशय व्यक्त गरेकाले त्यस सम्बन्धमा अध्ययन भइरहेको झा बताउनुहुन्छ ।
यसअघि गएकाे वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाएको थियो भने नेपालमै पहिलो पटक नारायणघाट–मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डरपास निर्माण गरिएको थियो ।
निमार्ण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ ।
लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडीबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।