दक्षिण कोरियामा १ सय ८१ जना बोकेको विमान दुर्घटना, कम्तीमा २...
पुस १४, २०८१ आइतबार
कास्की – प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताउनुभएको छ ।
नेपाली सेना भूपू सम्मेलन–२०७९ को आज बिहीवार पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उहाँले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने हो भन्नुभएको हो । उहाँले भन्नुभयो, ‘यो कुनै आईएनजीओ/एनजीओमा बसेर आफैँ स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो ।’
प्रधानसेनापति शर्माले यस्ता अनर्गल र झुटा प्रचारबाट टाढा रहन पनि आग्रह गर्नुभयो । उहाँले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्दै आएको पनि बताउनुभयो ।
देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवम् देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताउनुभयो ।
प्रधानसेनापति शर्माले लामो सैनिक जीवनका दौरान सिकेको र स्मरण गरेको अनुशासन, मूल्य, मान्यता तथा ज्ञान, सीपहरूलाई आफ्नो बसोबास गरेको समाजमा प्रयोग गर्दै सधैँ नागरिकको सेवामा लाग्न भूपू सैनिकहरूलाई आग्रह गर्नुभयो ।
पूर्वसैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषको अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रधानसेनापति शर्माले बताउनुभयो ।
सैनिक कल्याणकारी कोषमा अहिले ७३ अर्ब १३ करोड रुपैयाँ रहेको र १० लाख हिताधिकारीलाई त्यो रकमको ब्याजबाट विभिन्न सहुलियत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा ज्येष्ठ भूपू सैनिक ९२ वर्षीय गोमानसिंह कार्की र ज्येष्ठ एकल महिला ८९ वर्षीया मषिकलता थापा क्षेत्रीलाई सम्मान गरिएको थियो । यसैगरी लघु उद्यम व्यवसायीहरूलाई सम्मान तथा पुरस्कार वितरण, उद्यमी व्यवसायीहरूलाई महिला उद्यमशीलता कर्जाको चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा भूपू सैनिकहरूबाट मार्चपास, जिल्लागतरूपमा भूपू सैनिकहरू तथा एकल महिलाहरूको मार्चपास, स्थान विशेषका झाँकीहरूको प्रदर्शन, खुकुरी ड्रिल, तेक्वान्दो, पिटी तथा मार्चपास र विभिन्न संस्कृतिहरूको प्रदर्शनी गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।