‘सक्कली शरणार्थी निराश छन्, तर भुटान सरकारको मनोबल उच्च भएको छ’

 जेठ ७, २०८० आइतबार ९:५६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

नक्कली भुटानी शरणार्थी प्रकरणले अहिले सडकदेखि सदनसम्म तातेको छ । चिया चौतारीदेखि मेलापात अनि तारे होटलका बैठकसम्म पनि यो प्रकरणले आफ्नै ढंगले प्रवेश पाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गृहमन्त्रालयका पदाधिकारीदेखि उच्च तहका राजनीतिक नेतृत्वसम्म संलग्न रहेको यो प्रकरणले ‘कहिल्यै नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ’ भन्ने गोपाल योञ्जनको गीत र नेपालको इतिहासमै विश्वको सामु नेपालीको शिरलाई निहुराएको छ । यसले पुनर्वासमा गएका तथा शिविरमा रहेर पीडा खेपिरहेका भुटानी शरणार्थीलाई अब गरिने ‘तिमीहरु नक्कली शरणार्थी त होइनौँ’ भन्ने प्रश्नले झन पीडा थपेको छ । यी र यस्ता प्रसंगमा भुटानी मानवअधिकारकर्मी तथा भुटानी राजनीतिक बन्दी रिहाइको अन्तर्राष्ट्रिय अभियानको एक जना नेतृत्वकर्ता राम कार्कीसँग गरिएको कुराकानीको अंश ।

एक महिनादेखि नेपाली मिडिया तथा राजनीति नक्कली भुटानी शरणार्थी प्रकरणले तातेको छ, तपाईँहरुकहाँ पनि यसको तरंग छुट्टै गरी आएको छ होला ?

अवश्य पनि । हामी त मुख्य पात्र नै परियो । पात्र पनि नक्कली भुटानी शरणार्थी भन्ने कुरा हुँदा संसारभर रहेका र शिविरमा रहेका ६ हजार ५ सय सक्कली भुटानी शरणार्थीलाई दुःख लागिरहेको छ ।

यहाँ बसेका ६ हजार ५ सय त बेग्लै भए, पुनर्वास भएकामा पनि कति नक्कली गए भन्ने संशयको वातावरण पनि बन्यो ?

एकहप्ता अगाडि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समितिमा दिएको वक्तव्य अनुसार २०१६ देखि अगाडि करिब साढे ३ सय देखि ४ सय नेपाली नागरिकहरु सरकारको मिलेमतोमा भुटानी शरणार्थी बनेर पुनर्वासमा गएका छन् भनेर संसदमा पनि पेश गर्नेछु भन्ने वक्तव्य सुने यता हामी त्रसित भइरहेका छौँ । नेपाल सरकार यो मानव तस्करीमा योजनासहित लागेको रहेछ भन्ने कुराले हामीमा निराशा छाएको छ ।

अहिलेको यो प्रकरणले विदेशमा सँगै काम गर्ने विदेशीले नेपालमा यस्तो पो भयो भनेर भनिरहँदा हामीलाई कस्तो अप्ठेरो भयो भनेर नेपालीले भन्दै गर्दा तपाईँलाई यसको प्रभाव कस्तो परेको छ ?

भुटानी प्रजातन्त्र र मानव अधिकारमा लागेको अहिलेसम्म ३०/३५ वर्ष भयो । यस अन्तरालमा भुटानमा मानव अधिकार हनन भयो भनेर धेरै अन्तर्राष्ट्रिय संस्थामा हारगुहार गरियो, सम्मेलनमा भाग लिइयो । भुटानी शरणार्थी नेपालको शरणार्थी शिविरमा रहिरहेको हुँदा उहाँहरुलाई घरफिर्तीको लागि अभियान गर्दिनुस् भन्ने निवेदन गयो । नेपाल सरकारलाई पनि भुटानी समस्या अन्तर्राष्ट्रियकरण गर्दिनुस् भनेर धेरै पटक भनेकै हो । तर, अहिले नक्कली शरणार्थी प्रकरणले हामीले ३० वर्षदेखि विभिन्न अभियान गर्दा पनि नपाएको अन्तर्राष्ट्रिय चासो अहिले संसारको जनुसुकै समचारमा पनि भुटानी शरणार्थी भनेर नकारात्मकरुपमा भए पनि सुने भनेर सन्तोष गर्ने एउटा ठाउँ छ ।

समग्रमा हामी भुटानी शरणार्थीलाई आफ्नो देशमा आन्दोलन गर्दा घरबारविहीन बनाएर कतिको हत्या भयो, कतिको बलात्कार भयो, घर परिवार छोडेर हिँड्नुपर्ने अवस्था भयो । भारतले बस्न नदिएका कारण आफ्नै पितापुर्खाको भूमि हो नेपाल जाउँ त्यहाँ हामीलाई मर्न दिँदैनन् होलान भनेर सन् १९९१ मा त्यस्ता ९१ जनाको ज्यान जोगाउन माइधारमा शरणार्थी शिविर गठन गर्ने ३ जनामध्ये म पनि एक हुँ । त्यस्तो अवस्थामा नेपाल आएका हामीले अहिले हाम्रो नाममा अवैधरुपमा लाखौँ, करोडौँ उठाएर नेपाली नागरिक जसको आफनो देश छ, संविधान छ, सरकार छ, इज्जत छ त्यस्ता नागरिकलाई भुटानी शरणार्थी बनाएर पठाउने सरकारको संयन्त्र नै लागेको देख्दा त्योभन्दा दुःख के हुन्छ र हामी भुटानी शरणार्थीलाई ।

भुटानी मानवअधिकारकर्मी भएका नाताले तपाईँसँग विश्वका धेरै मानिसको जिज्ञासा पनि रहने गर्छ, यसमा तपाईँको उत्तर चाहिँ के हुने गर्छ ?

युरोप आएदेखि नै म भुटानको मानवअधिकारका लागि सक्रिय भएको छु । यसै क्रममा अनुहार नेपाली, भाषा नेपाली, धर्म हिन्दु अनि कसरी भुटानी शरणार्थी जबकि भुटानमा मंगोल समुदायका र बुद्ध धर्म मान्ने मान्छे हुन्छन् भन्ने प्रश्नको उत्तर दिन बाध्य हुनुपरेको थियो । अहिले यो प्रकरणसँगै यिनीहरु गैरभुटानी थिए, नेपालबाट काम गर्न आएका थिए, यसकारण हामीले फर्काइदिएको भन्ने सन्देश गएको बेला अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा हामी भुटानी हौँ भन्ने परिचय दिँदा पनि उहाँहरुले सजिलै विश्वास नगर्ने अवस्था आइपरेको छ ।

तीस वर्षको यो अवधिमा धेरै मिलाइयो अब लक्ष्यको थोरै प्रतिशत मात्र सफल हुन बाँकी छ भन्ने लागेको बेला यो प्रकरणपछि फेरि पछाडि फर्केर मेहनत गर्नुपर्ने प्रतिशत बढेको हो ?

यो प्रकरण भनेको सरकारी संयन्त्रले नै नेपाली नागरिकलाई पैसा लिएर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुनर्वास गराउन लागिएका नागरिक अमेरिका जान नपाएपछि भएको उजुरीका आधारमा विस्फोट भएको हो । हामीले भुटानमा प्रजातन्त्र र मानवअधिकार हुनुपर्छ भनेर आन्दोलन गर्यौँ । त्यसपछि भुटानबाट निकालिएपछि ससम्मान आफ्नो देश भुटान जान पाउनुपर्छ भनेर आन्दोलन भयो । यसका लागि नेपाल र भुटानबीच १५ औँ चरणकोे वार्ता भयो । तर, सफल भएन ।

सन् १९९६ मा कांग्रेस नेता शेरबहादुर देउवा गृहमन्त्री भएर शरणार्थीका सम्बन्धमा कुरा गर्न भुटान गएका बेला शरणार्थीलाई चार वर्गमा विभाजन गर्ने भुटान सरकारको प्रस्ताव स्वीकार गरेर आएपछि हामी पनि निराश भयौँ । सन् २००० मा खुदुनाबारी क्याम्पमा भुटान संलग्न संयुक्त शरणार्थी प्रमाणीकरण (ज्वाइन्ट भेरिफिकेशन) का क्रममा पनि नेपालले धेरै भ्रष्ट काम गर्‍यो । त्यसयता सन् २००८ देखि यता पुनर्वास कार्यक्रम सुरु भयो । हाम्रो आन्दोलन भनेको पुनर्वासका लागि थिएन । आफ्नो देश भनेको आफ्नो देश हो ससम्मान फिर्ता हुन पाउनुपर्छ भन्ने नै थियो ।

आन्दोलनको मोड नै परिवर्तन हुने गरी तेस्रो देश पुनर्वासको कार्यक्रम भयो । यो अवधिमा हाम्रो समुदायले केही राहत महसुस गरेको थियो । तर, यसै बीचमा यो नक्कली भुटानी शरणार्थी प्रकरण आउँदा दुःख लागेको छ । अहिले पनि झापाको बेलडाँगी तथा मोरङको शनिश्चरेमा रहेका ६ हजार ५ सय भुटानी शरणार्थीमध्ये ३ हजार भुटान फर्कन चाहनुहुन्छ । बाँकीमध्ये कति तेस्रो देश जान चाहनुहुन्छ भने कति नेपालको नागरिकता प्राप्त गरेर यतै बस्न चाहनुहुन्छ । अब यो नक्कली शरणार्थी प्रकरण उठेको बेला नेपाल सरकारले अहिले उठेको समस्या समाधानका साथै शरणार्थी समस्या समाधानमा पनि पहल गरोस् भन्ने म चाहन्छु ।

नेपाल सरकारको कुनै आधिकारिक निकायले यसै सन्दर्भलाई लिएर हामीबाट बदमासी भयो, झन समस्यामा भएका बेला समस्या थपियो हामी केही गर्छौँ, माफी पाउँ मिलाउँदैछौँ भन्ने कतै केही आश्वासनहरु छन् ?

अहिले यो अन्तर्वार्ताका लागि तयारी गर्दैगर्दा बेलडाँगीमा रहेका घरफिर्ती अभियानका नेता डिबी सुब्बासँग सम्पर्क गरेको थिएँ र धेरै लामो कुराकानी भएको थियो । यसको सन्दर्भमा उहाँलाई पनि जानकारी छैन र मलाई पनि जानकारी छैन । यस्तो भएको जस्तो मलाई लाग्दैन ।

डिबी सुब्बासँगको कुराकानीमा उहाँहरुको मनोविज्ञान के पाउनु भयो ?

उहाँहरु अझै घरफिर्तीको आशामा बसिरहनु भएको थियो । आधा परिवार पुनर्वासमा जानु भएको छ । आधा परिवारसँग पूनर्मिलन हुनपाउँ भनेर बसिरहनु भएको छ । उहाँहरुको आशा आशैमा रह्यो । उहाँ के भन्नुहुन्छ भने यो समस्याको दीर्घकालीन समाधान गरिनु पर्छ । दीर्घकालीन समाधान गर्दा पहिलो जो जो भुटान जान चाहनुहुन्छ उहाँहरुलाई नेपाल सरकारले भुटान तथा अन्तर्राष्ट्रिय समुदायसँग पहल गरेर भुटान फिर्ती (रिपार्टेसन) हो । त्यसपछि मात्रै तेस्रो देश पुनर्वास तथा लोकल एस्युमुलेशन हो । तपाईँले मिडियासँग कुरा गर्दा हामी ३ हजार जति भुटान जान चाहन्छौँ भनेर कुरा भन्दिनुहोला डिबी सुब्बाले भन्नुभएको छ ।

अहिले नेपालको संसद तथा सडकमा पनि नक्कली भुटानी शरणार्थी प्रकरणले चर्चा पाएको छ । अहिले नयाँ निस्केका पार्टीका नेताहरु पनि भ्रष्टाचार विरुद्धमा लागिरहनु भएको छ । तर, कुनै पनि नेताले यहाँ बाँकी भएका ६ हजार ५ सय भुटानी शरणार्थीका बारेमा स्थायी समाधानका बारेमा कतै भनेको पाइएन र जबसम्म उहाँहरु यहाँ रहिरहनु हुन्छ यस्ता भ्रष्टाचारका समस्याहरु आइरहन्छन् । भनेको कसैले पनि भनेको नसुन्दा मलगायत शिविरमा रहेका भुटानी शरणार्थीहरु चिन्तित हुनुहुन्छ । भुटानी शरणार्थी समस्या मागी खाने भाँडो हो, पैसा कमाउने भाँडो हो त्यसैले जुनै नेताले पनि यसलाई साँच्ने गर्नु भएको छ त्यसैले नबोलेको होला भनेर भन्नु भएको छ ।

मुहार, पहिरन र भाषा नेपाली भएका कारण भुटान सरकारले यिनीहरु हाम्रा नागरिक होइन भनेको बेला अहिलेको नक्कली शरणार्थी प्रकरणले यिनीहरु नेपालले नै पठाएको रहेछ भन्ने कुरालाई बल पुगेन ?

अहिले भुटान सरकारको मनोबल उच्च भएको छ । उसले जति पनि शरणार्थी भनिएका छन् यी नेपाली हुन् भुटानी हैनन् भन्ने जुन उसको दाबी थियो अन्तर्राष्ट्रिय मञ्चहरुमा अहिलेको नक्कली शरणार्थी प्रकरणले उसको कुरोलाई बल पुगेको छ।

भुटान ३० वर्षदेखि यी शरणार्थी हाम्रा होइनन् नेपालका हुन्, भारतका हुन् भनेर एउटै वाक्यमा अडिएको छ अनि अहिलेको यो प्रकरणले हुँदै नभएको कुरा पनि हो जस्तो देखिन जाने भयो ?

एकदमै सही कुरा गर्नुभयो । म मानवअधिकार सम्मेलनमा थुप्रै मञ्चहरुमा गइरहन्छु । त्यहाँ भुटानबाट आएका हुन्छन् । अनि त्यहाँ नक्कली हो कि सक्कली हो भन्ने प्रश्नचिन्ह उठ्ने वातावरण भयो । हामीले आफ्नो परिचय दिँदा म सक्कली भुटानी शरणार्थी भनेर परिचय दिने बेला आइसकेको छ । त्यो हाम्रो हातमा छैन । नेपाल सरकारको आधिकारिक निकायले नै त्यो वातावरण सृजना गरिदिएको अवस्था छ । धेरै दुःख लाग्छ ।

अहिले म सक्कली भुटानी शरणार्थी भनेर जुन परिचय तपाईँले दिइरहनु परेको छ यसलाई सुधार्न नेपाल सरकार, नेपाली नागरिकले के गरिदिए तपाईँहरुलाई सहज हुन्छ ?

मैले यो विषयमा हाम्रा समुदायका साथीहरुसँग पनि छलफल गरेँ । सामाजिक सञ्जालमा पनि यो विषयमा धेरै बहस भइरहेको छ । भुटानी शरणार्थीलाई मागी खाने भाँडो बनाउने र कमाउने भाँडो बनाउने प्रक्रिया त सुरुदेखि नै भएको छ । सन् १९९१ को फेब्रुअरीमा जब मलगायत गौरीशंकर निरौला, भीम खपाँगी लगायत ९१ जना काकडभिट्टा भएर भित्रिएका थियौँ । माइधारामा शरणार्थी शिविर सुरु गरेका थियौँ । त्यतिखेर एक जना सीडीओ हुनुहुन्थ्यो श्रीकान्त रेग्मी । उहाँले हामीलाई काकडभिट्टाबाट प्रवेश गर्न दिनुभएन । धेरै समय हामी काकडभिट्टाको गेटदेखि बाहिर ९१ जनाको ठूलो जमात पोको बोकेर राति बस्नुपरेको थियो । स्थानीय जनताले हामीलाई पस्न दिनुपर्छ भनेर अभियान सुरु भयो । अनि डिपी काफ्ले, मधुसुदन ढकालको पहलमा रेग्मीले पस्न दिनुभयो । पछि दुई/तीन महिनापछि हामी तिमीहरुलाई यहाँ बस्न दिँदैनौँ भनेर चार/पाँच वटा गाडी लिएर आएर भन्नु भएको थियो त्यो अहिले मलाई झल्झली याद आइरहेको छ ।

अहिले श्रीकान्त रेग्मीले शरणार्थी प्रकरणमा घुस खान सुरु गर्नुभएको थियो कि भन्ने लाग्छ । भुटानी शरणार्थी नेतलाई आफ्नो मानव अधिकार तथा प्रजातन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आउनु पर्ने हुँदा ट्राभल डकुमेन्ट दिन्थ्यो नेपाल सरकारले त्यसका लागि क्यम्पदेखि गृहमन्त्रालयको आरसीओ अर्थात् रिफ्युजी कोअर्डिनेसन कमिटीका अधिकारीहरुलाई घुस दिनुपर्थ्याे । चन्द्रगढीमा त्यतिखेर शाखा अधिकृत दिनेश पोखरेलजी हुनुहुन्थ्यो । उहाँले धेरै घुस खानुहुन्थ्यो । त्यसपछि बल्लबल्ल उहाँले भोलि आइज, पर्सि आइज भनेर गृहमन्त्रालय सिंहदरबारमा पठाउनुहुन्थ्यो ।

गृहमा पनि भोलि आइज, पर्सि आइज भनेर सेटिङ गरेर कुन रेष्टुरेण्टमा आइज भन्ने कहाँ आइज भन्ने गरेर धेरै धनराशी दिएर उहाँहरुले परराष्ट्र मन्त्रालय शीतल निवास पठाइदिनुहुन्थ्यो । शीतल निवासबाट हामी ट्राभल डकुमेन्ट निकालेर विदेश आएर आफ्नो मानवअधिकारको कुराहरु राख्ने गर्थ्याैँ । मैले पनि त्यो भोगेको छु । सुरुदेखिका शरणार्थीसम्बन्धी ती भ्रष्टाचारका कुरालाई नेपाल सरकारले अनुसन्धान गरेर भ्रष्ट कर्मचारीलाई न्यायको कठघरामा ल्याएदेखि हामीलाई पनि न्याय हुन्थ्यो कि भन्ने हामीलाई पनि आशा लागेको छ ।

नक्कली शरणार्थीको कुरा त अहिले आयो त्यो भन्दा पहिले पनि भुटानी शरणार्थीलाई कमाउने भाँडो बनाएका रहेछन् उसोभए ?

यो एकदमै सत्य हो । त्यति मात्र होइन आरसीओमा काम गर्ने कर्मचारीले क्याम्पमा भ्रष्टाचारका कुरा मात्र नभएर अनैतिक काम गर्ने, क्याम्प, क्याम्पमा जाने अनि कोही बाहिर दमक बजारमा राशन लिन गएको छ भने पनि राशन खोल्दा पनि घुस खुवाउनुपर्ने, बच्चाको जन्म दर्ता गर्दा पनि घुस खुवाउनुपर्ने, मरेको दर्ता पनि घुस दिनु पर्ने यस्ता काण्डहरु शरणार्थी शिविरमा गृह मन्त्रालयका पदाधिकारीले सुरुदेखि नै गरेका छन् ।

अब यदि हामीलाई साँच्चै न्याय दिने हो भने सुरुदेखिको फाइल खोलेर भ्रष्टहरुलाई कारबाही भएदेखि हामीलाई न्याय हुन्थ्यो ।

भुटानी शरणार्थी र नेपाली समुदायबीच जनस्तरमा सौहार्दता बढाउने  केही सुझाव छन ?

यहाँ नेदरल्याण्डमा नेपाली समुदायको ठूलो बसोबास छ । उहाँहरुको छत्रछायामा हामी छौँ । हामीहरुलाई साह्रोगाह्रो पर्दा उहाँहरुको सहयोग माग्छौँ । विवाह, व्रतबन्धमा उहाँहरु पनि आउनुहुन्छ, हामी पनि जान्छौँ । हामीहरुको एकदम सहजतापूर्ण वातावरण छ । उहाँहरुले एक अर्कालाई सहयोग गर्ने, भाषा, संस्कृति, कला, आफ्नो चाडबाड सम्बर्द्धन गर्ने काम हामीले गर्दैै आएका छौँ । उहाँहरु सबै बुझक्की हुनुहुन्छ । हाम्रो उहाँहरुप्रति नराम्रो धारणा पनि छैन । उहाँहरुले पनि हामीहरुप्रति नराम्रो धारणा राख्नुहुन्न । यस्तो आपराधिक कुरामा उहाँहरुको पनि समर्थन हुँदैन । त्यसकारण अहिलेको प्रकरणले हाम्रो मैत्रीपूर्ण सम्बन्धमा आँच आउँछ जस्तो मलाई लाग्दैन । 

अन्तिम अपडेट: साउन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया