गुरु पूर्णिमामा विद्यार्थीलाई बिरुवा उपहार, विद्यार्थीले घरमा लगेर राेपे

 असार १८, २०८० सोमबार २०:४२:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – गुरुपूर्णिमाको अवसर पारेर दाङकाे ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलका विद्यार्थीले आज साेमवार बिरुवा रोपेका छन् । डिभिजन वन कार्यालय दाङको सहयोगमा दुई वटा विद्यालयका एक हजार पाँच सय जना विद्यार्थीले दुई/दुई वटा बिरुवा घरमा लगेर रोपेका हुन् ।

विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको वार्षिक कार्यक्रमअनुसार विद्यालयले एक जना विद्यार्थीलाई कम्तीमा दुई वटा बिरुवा प्रदान गरेको थियो । डिभिजन वन कार्यालय दाङको 'एक घर दुई वृक्ष, शहर हाम्रो बनाउ स्वच्छ' कार्यक्रम र विद्यालयको 'एक विद्यार्थी दुई बिरुवा, संरक्षण गरौँ पानीको मूल र जरुवा' भन्ने कार्यक्रमअनुसार विद्यार्थीहरूलाई बिरुवा वितरण गरिएको हो ।

कार्यक्रमका लागि धुपी, पारिजात, गुलमोहर, अमला, कपुर, दालचिनी, टिमुर, कल्की, राजवृक्ष, छतिवनलगायतका प्रजातिका तीन हजार बिरुवा विद्यालयलाई निःशुल्क उपलब्ध गराएको डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बिरुवा लगाउने ठाउँ, क्षेत्रफल र विद्यार्थीहरूको चाहनाअनुसार वितरण गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही दाङका 'समाज र विद्यालय सँगसँगै' कार्यक्रमका संयोजक ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरूमा जल, जङ्गल र जमिनप्रति स्नेह राखी वातावरण संरक्षण र प्रवर्धनमा सचेतना ल्याउनका लागि उनीहरूलाई बिरुवा घरमै लगी अभिभावककाे सहयोगमा रोप्ने र संरक्षण गर्ने काम शुरु गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । विद्यालयले विद्यार्थीहरूको प्रयोगात्मक परीक्षामा अङ्क उपलब्धन गराउने योजनासहित गएकाे वर्षदेखि वृक्षराेपण कार्यक्रम शुरु गरेकाे थियो ।

रोपिएका बिरुवा संरक्षणका लागि विद्यालयले विद्यार्थीहरूका अभिभावकलाई पत्राचार गरेकाे ज्याेतिपुञ्जका प्राध्यापक बुद्धिराज अधिकारीले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘बिरुवा रोप्नका लागि दुई वटा खाडल खनेर तयारी अवस्थामा राख्न, खाडल खन्दा निस्केको माटोमा कम्पोस्ट मल राम्रोसँग मिश्रण गरी खाडलको आधा भागसम्म भर्न, आधा भरिएको खाडलमा बिरुवाको जरालाई छोपेको माटो नझर्ने गरी प्लास्टिक/छवाली सावधानीपूर्वक हटाएर सिधा पर्ने गरी रोप्न, रोपिएको बिरुवाको जरालाई पहिले माटोले छोपेको भागभन्दा माथि माटो भर्नु हुँदैन भनेर सिकाउन, माटो भरिसकेपछि बिरुवाको जराको भागमा पानी जम्ने खालको खाली ठाउँ हुनुहुँदैन भनी सिकाउन र रोपिएको बिरुवालाई पानी राख्न लगाई हरेक दिन बेलुका पानी नपरेको दिन सिँचाइ गरी संरक्षण गर्नका लागि पत्राचार गरिएको छ ।’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया