असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी देशसँग राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।
एसिया कपको यात्रा शुरु हुनुअघि आज मङ्गलवार काठमाण्डाैमा भएकाे पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी देश भारत र पाकिस्तानसँग राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन् । आउँदाे अगस्ट ३० मा पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु पनि गर्दैछ । एसिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ । त्यसका लागि नेपाली टोली आज राति पाकिस्तान प्रस्थान गर्दैछ ।
कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारीअनुरूपको प्रदर्शन गर्ने बताए । भारत र पाकिस्तानसँग खेल्दा विश्वकै नजर हुने भएकाले उनीहरूसँग आफ्नो उत्कृष्ट दिने उनकाे भनाइ छ । साथै सबै खेलाडी क्रिकेटको बलिया देशसँग खेल्न उत्साहित रहेको उनले बताए ।
पछिल्लाे समय नेपाली क्रिकेट टोलीका भरपर्दा बलर सन्दीप लामिछानेले एसिया कप नखेल्ने समाचार बाहिरिएका छन् । उनले नखेल्ने भएपछि उनका समर्थक पनि सन्दीपको सहभागिता नहुने विषयलाई लिएर चासो व्यक्त गरिरहेका छन् । नेपालका कप्तान रोहितले भने सन्दीप खेल्ने वा नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महत्त्व सबैमाझ स्पष्ट रहेको बताए ।
क्यानका म्यानेजर प्रदीप मजगैयाँले पनि सन्दीपको सहभागिता नहुने विषयमा अहिले नै टुङ्गो लागिनसकेको बताए । उनले सन्दीपको स्वास्थ्यमा समस्या रहेको पनि दाबी गरे ।
नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले पछिल्लाे समय भएका केही भ्रमणमा पनि सन्दीपको सहभागिता दुविधामा नै रहँदै आएको उल्लेख गर्दै उनी टोलीका च्याम्पियन खेलाडी रहेको बताए ।
समूह 'ए' मा रहेको नेपालले दोस्रो खेल अर्काे बलियो टोली भारतसँग सेप्टेम्बर ४ मा खेल्नेछ । त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलङ्का जानेछ । बलियो भारतसँगकाे खेलका लागि पनि नेपाली टोली तयारीमा रहेकाे कप्तान पौडेल र प्रशिक्षक देसाईको भनाइ थियाे । कप्तान रोहितले विश्वकप छनोटमा टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग खेलेकाले त्यहाँबाट धेरै कुरा सिकेको र त्यो भारत र पाकिस्तानसँगको खेलमा लागू गर्ने विश्वास व्यक्त गरे ।
नेपालले एसिया कपका लागि लामो समयदेखि तयारी गरिरहेको छ । वैदेशिक प्रशिक्षणसँगै घरमा पनि नेपालले तयारी गरिरहेको थियो । नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले भारत र पाकिस्तान अनुभवी राष्ट्र भए पनि उनीहरूसँग अन्तिम समयसम्म चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन् । पछिल्लो पाँच/छ महिनायता जित्ने मानसिकताका साथ प्रशिक्षण गरिरहेको उनकाे भनाइ छ ।
रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् । यद्यपि सन्दीपको सहभागिताबारे टुङ्गो लागिसकेकाे छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।