आर्थिक मन्दीका कारण नेपालको वैदेशिक व्यापारमा निरन्तर कमी, ४ वर्षपछि कात्तिकमा सबैभन्दा कम आयात

 मंसिर ७, २०८० बिहिबार १४:१८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आर्थिक मन्दीका कारण नेपालको वैदेशिक व्यापारमा निरन्तर कमी आएको छ । भन्सार विभागले आज बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा कमी आएको छ । आयातमा मात्रै २० अर्ब रुपैयाँभन्दा धेरैको कमी देखिएको छ ।

विभागका अनुसार साउनदेखि कात्तिकसम्म पाँच खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ । गएको वर्षको चार महिनामा नेपालले पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

यस्तै चार महिनाको अवधिमा नेपालले ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गएको वर्षको तुलनामा यो चार अर्ब २० करोड रुपैयाँभन्दा कम हो । चार महिनामा नेपालले चार खर्ब ६१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा बेहाेरेकाे छ । यो गएको वर्षको चार महिनाको तुलनामा झन्डै एक खर्ब रुपैयाँले कमी हो । गएको कात्तिक महिनामा पछिल्लो चार वर्षयताकै कम आयात भएको छ । कात्तिक महिनामा एक खर्ब चार अर्ब ७४ करोड ४५ लाख रुपैयाँको वस्तु आयात भएको छ । याे ५० महिनापछि सबैभन्दा कम आयात हो ।

आर्थिक वर्ष २०७७/७८ मा ९३ अर्ब तीन करोड ८२ लाख रुपैयाँको वस्तु आयात भएकोमा त्यसपछिका वर्षमा मासिक डेढ खर्ब रुपैयाँको हाराहारीमा आयात हुँदै आएको थियो । गएको वर्ष सरकारले आयातमा कडाइ गर्दासमेत कात्तिकमा एक खर्ब ३० अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएकाे थियो ।

सरकारले अर्थतन्त्रका मुख्य सूचकहरू राम्रो रहेको बताउँदै आए पनि आन्तरिक अर्थतन्त्रमा भने मन्दी देखिएको छ । बजारमा चहलपहल छैन । मन्दीको असर वैदेशिक व्यापारमा देखिएको विज्ञहरूले बताएका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया