बेलायतमा अध्यामगनमा कडाइ, विदेशी विद्यार्थीलाई परिवार ल्याउन सकस

 मंसिर १९, २०८० मंगलबार १६:२९:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमवार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गर्नुभएको छ । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको 'कट्टरपन्थी कार्य' को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्‍याउन सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ ।

नयाँ उपायहरूको शृङ्खलाको रूपमा सरकारले विदेशी विद्यार्थीले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन् तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइने छ । साथै यो कदमबाट दक्ष विदेशी कामदारले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनुपर्ने बाध्यता सृजना हुने छ ।

प्रधानमन्त्री सुनकले भन्नुभयो- ‘अध्यागमन धेरै उच्च छ । आज हामी यसलाई घटाउन कट्टरपन्थी बनेर कारबाही गरिरहेका छौँ । यी कदमहरूले बेलायतलाई फाइदा पुर्‍याउने कुराको सुनिश्चित गर्नेछ ।’

यस नयाँ प्रावधानअन्तर्गत स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म विदेशी विद्यार्थीलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउनेछ ।

बेलायतमा कुल माइग्रेसन गएकाे वर्ष उच्च स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायत सरकारलाई दबाब थपेपछि यस मुद्दालाई राजनीतिक विषय बनाइएको सीएनएनले उल्लेख गरेको छ ।

बेलायतमा सन् २०२२ मा ६ लाख ६ हजार मानिसको बसाइसराइँ भएको राष्ट्रिय तथ्याङ्कको कार्यालय (ओएनएस) ले जनाएको छ । त्यसैगरी १२ लाख मानिस बेलायत प्रवेश गरेका छन् भने झन्डै आधा सङ्ख्याले देश छोडेर गएका छन् ।

सीएनएनका अनुसार कन्जर्भेटिभ सरकारहरूले बेलायतमा सर्ने मानिसको सङ्ख्यामा ठूलो मात्रामा कमी ल्याउने वाचा गरे पनि सहजरूपमा त्यसो हुन सकेको छैन । विशेषगरी ब्रेक्सिटको परिप्रेक्ष्यमा हेर्दा यसका समर्थकहरूले सिमाना नियन्त्रण गर्न बेलायतलाई आवश्यक कदमको रूपमा यो पछिल्लो कदमलाई लिएका छन् ।

बेलायत आइपुगेका धेरैजसाे मानिस ९ लाख २५ हजार गैर-ईयु नागरिक रहेका र तीमध्ये १२ जनामध्ये एक शरण खोज्नेहरू रहेका तथ्याङ्कले देखाएको छ । गैर-ईयु देशहरूबाट बेलायत बसाइ सर्नेहरूमा कामको खोजी, अध्ययन र मानवीय उद्देश्य प्रमुख रहेरको ओएनएसमा अन्तर्राष्ट्रिय आप्रवासन केन्द्रका निर्देशक जे लिन्डोपले उल्लेख गर्नुभएको छ ।

यसैगरी गएकाे वर्ष बेलायतको अध्यागमन तथ्याङ्कका अनुसार सबैभन्दा धेरै भारतीय नागरिक बेलायतमा अध्ययन, कामको खोजी र पर्यटन भिसा बोकेर प्रवेश गरेका थिए । जुन २०२२ को अन्त्यमा २ लाख ५८ हजारभन्दा बढी भारतीय नागरिकले भ्रमण भिसा प्राप्त गरेका छन्, याे सङ्ख्या अघिल्लो वर्षको तुलनामा ६३० प्रतिशतले बढी हो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया