भारतलाई बिजुली बेचेर प्राधिकरणले १५ अर्ब २४ कराेड रुपैयाँ आम्दानी गर्‍याे

 मंसिर २२, २०८० शुक्रबार १२:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – यस वर्षको वर्षायाममा नेपाल विद्युत् प्राधिकरणले १५ अर्ब २४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष गएकाे जेठ २८ गतेदेखि भारतीय बजारमा बिक्री शुरु गरेको थियो ।

प्राधिकरणले यस वर्षको जेठदेखि मङ्सिर २० गतेसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट बिजुली निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकाे हो । प्राधिकरणले यस अवधिमा दैनिक अधिकतम ७ सय मेगावाटसम्म बिजुली निर्यात गरेको थियो । निर्यात गरिएको बिजुलीकाे औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष २०८०/८१को साउनदेखि मङ्सिरमा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको बिजुली निर्यात भएकाे छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट बिजुली निर्यात भएको छ । निर्यात गरिएको बिजुलीकाे औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

सुक्खायाम शुरु भएसँगै खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरूबाट बिजुली उत्पादन घट्न शुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट बिजुली आयात शुरु भएको छ । आज शुक्रवार रातिदेखि बिजुली निर्यात बन्द हुने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा बिजुलीकाे अधिकतम माग १ हजार ७ सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा बिजुली आयात शुरु गरिएको बताउनुभयो ।

‘अहिले बिजुली उत्पादन र माग झन्डै झन्डै बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत् गृहहरूमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘पिक समयमा आयात गर्दा बिजुलीकाे दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरूमा दिउँसो र राति पानी जम्मा गरी त्याे समयमा आयात गर्दा सस्तो दरमा पाइने बिजुली थोरै परिमाणमा मात्र आयात शुरु गरिएको छ ।’

उहाँले चैत र वैशाखमा बिजुली आयातको परिणाम केही बढे पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताउनुभयो । ‘आउँमी वैशाखको दोस्रो हप्तादेखि बिजुली निर्यात पुनः शुरु हुने छ, यस वर्ष झन्डै ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदैछ, त्यसैले अर्को वर्ष २५/३० अर्ब रुपैयाँको बिजुली निर्यात हुने छ’, घिसिङले भन्नुभयाे,  ‘२ देशबीचको प्रसारण सञ्जाल सुधारका लागि ठूलो क्षमताका लाइनहरू बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजनाहरूको निर्माण भइरहेका छन्, त्यसैले आउँदाे ५ वर्षभित्रमा बर्सेनि १ खर्ब रुपैयाँको बिजुली निर्यात हुने अवस्था बनिरहेको छ ।’

प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । यसैगरी असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र मङ्सिर २९ गतेसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ बिजुली निर्यात गरी आम्दानी भएको छ ।

प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै १ सय १० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको थियो । एनभीएनले त्याे बिजुली हरियाणा राज्यमा बिक्री गरेको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५ सय २२ मेगावाट मध्येबाट पहिलो चरणमा झन्डै ४४ मेगावाट बिजुली रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५ सय ४७ मेगावाट र एनभीभीएनलाई १ सय १० गरी ६ सय ५७ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति पाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया