मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तार र पुराना असल ऋणीलाई सहज हुनेछ : गभर्नर अधिकारी

 मंसिर २२, २०८० शुक्रबार १५:४०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तार र पुराना असल ऋणीलाई सहज हुने बताउनुभएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले कर्जा विस्तारमा सहज हुने र पुराना असल ऋणीलाई व्यवसाय निरन्तरतामा सहज हुने नीति राष्ट्र बैंकले लिएको बताउनुभयो ।

ऋण नतिर्ने ऋणीलाई कडारुपमा प्रस्तुत हुने तर वास्तविक समस्यामा परेका ऋणीलाई कर्जा पुनःसंरचनामा सहजीकरण गरिने र मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने पनि उहाँले बताउनुभयो ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले बैंक दरलाई सात दशमलव पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा कायम गरेको छ भने नीतिगत दरलाई छ दशमलव पाँच प्रतिशतबाट घटाएर पाँच दशमलव पाँच प्रतिशतमा कायम गरिएको छ ।

त्यसैगरी निक्षेप सङ्कलन बोलकबोल दरलाई साढे चार प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको छ । बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुने घरजग्गा कर्जा र ५० लाख रुपैयाँ भन्दा धेरैको शेयर धितो कर्जाको जोखिम भार घटाइ एक सय २५ प्रतिशत कायम गरिएको छ ।

५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत कायम हुने व्यवस्था गरिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरको पुनःनिर्माणका लागि भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिन सकिने र यस्तो कर्जामा आधार दरमा दुई प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिएको छ । 

यस्तो कर्जामा साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा त्यो भन्दा बढी विन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिएको छ । समस्यामा परेका लघुवित्तका ऋणीका लागि पनि केही नयाँ व्यवस्था ल्याइएको छ ।

लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीको कर्जालाई कर्जा पुनःसंरचनाका लागि आउँदो चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीको कर्जालाई पुनःसंरचना गर्न सकिने व्यवस्था गरेको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया