राहुघाट जलविद्युत् आयोजनाकाे निर्माण कार्य चाँडाे सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

 मंसिर २३, २०८० शनिबार १६:३९:५७ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दैगरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाकाे कामलाई गति दिन निर्देशन दिनुभएको छ । उहाँले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युत् गृह निरीक्षण गर्दै आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएकाे हाे। 

मन्त्री बस्नेतसहित संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले आयोजनाको निरीक्षण गर्नुभएको हो । आयोजनाका अधिकारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले मन्त्री बस्नेतलाई आउँदाे २५ महिनाभित्र आयोजना निर्माण सम्पन्न हुने जानकारी गराएका थिए । 

राहुघाट जलविद्युत् आयोजना निर्माणमा भएको ढिलाइले समग्र देशलाई नै नोक्सानी भएको उल्लेख गर्दै मन्त्री बस्नेतले नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिका लागि वैकल्पिक स्रोत खोज्नुपर्नेमा जोड दिनुभयो। 'वैकल्पिक स्रोत पहिचान गरी आयोजनालाई नदीजन्य निर्माण सामग्रीको अभाव हुन नदिन सहजीकरण हुन्छ', उहाँले भन्नुभयो, 'कार्ययोजनाअनुसार आयोजना सञ्चालन हुने गरी आयोजना, निर्माण कम्पनी र परामर्शदाताले काम गर्नुहोस् ।'

आयोजनाको प्रवर्द्धक प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको राहुघाट जलविद्युत् आयोजनाबाट सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन शुरु गर्ने कार्ययोजनासहित काम भइरहेको जानकारी दिनुभयो । 

'छ दशमलव दुई सय किलोमिटर शुरुङमध्ये अब सात सय मिटरमात्र खन्न बाँकी छ । बाँध र विद्युत् गृह निर्माणको काम पनि ५० प्रतिशतभन्दा बढी सकिएको छ', उहाँले भन्नुभयो । 

निर्माण कम्पनी जयप्रकाश एशोसिएट्सका आयोजना व्यवस्थापक हरिश अग्रवालले नदीजन्य निर्माण सामग्रीको अभाव आयोजना निर्माणका लागि चुनौती बनेको बताउनुभयो । सर्वोच्च अदालतको २०७८ ;fn असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न नपाउँदा नदीजन्य निर्माण सामग्रीको अभाव भएको उहाँको भनाइ थियो । ठेक्का सम्झौतामा कालीगण्डकीको नदीजन्य सामग्री प्रयोग गर्ने उल्लेख भएको र कालीगण्डकीबाट सामग्री नपाउँदा समस्या भएको आयोजना व्यवस्थापक अग्रवालले बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राहुघाटलगायत कालीगण्डकी र सहायक नदीबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न दुई सय २० केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण भइसकेको बताउनुभयो । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा २०६६ सालमा आयोजना निर्माण अघि बढाइएको हो । 

कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो निर्माण कम्पनी आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा निर्माण सकिनुपर्ने थियो । विसं २०७४ मङ्सिरमा छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसिएटस् (जेपी) ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेन् । 

४५ महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालन गर्ने लक्ष्य थियो । कोरोना महामारी र विपद्का कारण निर्माण कम्पनीले लक्ष्यअनुसार काम गर्न नसकेका कारण सन् २०२४ अक्टोबरसम्म ठेक्का सम्झौताको म्याद थप गरिएको छ ।

पुरानो निर्माण कम्पनी आईभीआरसीएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो । विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा शुरुङ खन्न शुरु गरेको सिभिल ठेकेदार जेपीले अहिलेसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट, तीन सय २९ मिटर बटम प्रेसर साफ्ट, छ सय ५४ मिटर लामो चारवटै अडित (मुख्य शुरुङमा पुग्ने पहुँचमार्ग) र एक सय ९६ मिटर ठाडो शुरुङ निर्माण सकेको छ । अडिट–१ बाट बाँधतर्फ जाने ७५ मिटर लामो शुरुङ जोडिएको छ ।

छ दशमलव दुई सय ७० किलोमिटर लामो शुरुङमध्ये अहिलेसम्म पाँच हजार पाँच सय ७० मिटर निर्माण सकिएको छ । सात सय मिटर शुरुङ खन्न बाँकी छ । बाँध निर्माणस्थलमा अडिट–१, अँधेरीखोलामा अडिट–२, पिप्लेमा अडिट–३ र तिल्केनी चौरमा अडिट नं ४ खन्ने कार्य सम्पन्न गरी ती अडिटबाट शुरुङ निर्माणलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।

रघुगङ्गा–४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशतभन्दा बढी सकिएको आयोजनाका व्यवस्थापक राज विष्टले बताउनुभयो । तिल्केनीचौरमा विद्युत् गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ ।

घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा ट्रस प्रविधिको पक्की पुल निर्माण गरी विद्युत् गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । यसअघिका दुई वर्ष बुग्लको पहिराेका कारण बर्खायामको चार महिना बाँध निर्माणको काम रोकिएको थियो । यस वर्ष बर्खायाममा पनि बाँध, सुरुङ र विद्युत् गृह निर्माणले निरन्तरता पाएको थियो । 

आयोजनाले सन् २०२३ जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत दुई सय २० केभी (डबल सर्किट) क्षमताका दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो) को चार टावर निर्माण गरिएका छन्।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया