नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री महत

 मंसिर २५, २०८० सोमबार १८:९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्य देशको तुलनामा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ आफूसँग रहेको बताउनुभएको छ ।

आउँदो वैशाख ९ र १० गते काठमाण्डौमा आयोजना हुने तय भएको तेस्रो लगानी सम्मेलनबारे आज सोमवार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री महतले भन्नुभयो, ‘नेपालमा धेरै माग छ, आपूर्ति कम छ । त्यस कारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि लगानीका सम्भावित उर्बर क्षेत्र हुन् ।’

लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा आफू लागेको अर्थमन्त्री महतको भनाइ छ । ‘साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिन्छ । नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र छन् । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको छ’, उहाँले भन्नुभयो । 

छलफलमा लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको थियो । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात् गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको मन्त्री महतले बताउनुभयो ।

‘सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधेयक संसदबाट चाँडै पारित भएर आउँछ । हामी लगानी सम्मेलनअघि नै नेपालको सार्वभौम साख मूल्याङ्कन (कन्ट्री रेटिङ) को काम सक्छौँ । सबै खालका समस्या र चुनौती हटाउन लागिपरेका छौँ’, विकास साझेदारसँगको छलफलका क्रममा अर्थमन्त्री महतले भन्नुभयो ।

छलफलमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार तेस्रो लगानी सम्मेलन आयोजनाका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ ।

सम्मेलन आयोजना गर्नका लागि गठित निर्देशक र कार्यान्वयन समितिको बैठक बसिसकेको छ । सार्वजनिक–निजी साझेदारीमा नेपालमा लगानी गर्नका लागि के कस्ता कानुनी र प्रक्रियागत समस्या समाधान गर्न आवश्यक छ भन्नेबारे छलफल भएको जनाइएको छ । सम्मेलनका क्रममा ‘सोकेस’मा राखिने आयोजनाको पूर्वतयारीका विषयमा पनि छलफल भएको थियो ।

आउँदो वैशाख ९ र १० गते काठमाण्डौमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारको तयारी छ । सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजकत्वमा प्राविधिक समिति गठन भएको छ । 

निर्देशक समितिको पहिलो बैठक मङ्सिर १० गते र कार्यान्वयन समितिको पहिलो बैठक मङ्सिर १९ गते बसेको थियो । प्राविधिक समितिको बैठक भने अझै बस्न सकेको छैन ।

सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी गर्ने वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने र सम्मेलनको समग्र पक्ष हेर्ने काम निर्देशक समितिको हो । अर्थमन्त्रीको संयोजकत्वमा गठित यस समितिमा परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति पर्यटन, उद्योग, कृषि, सहरी र सङ्घीय मामिलामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव, निजी क्षेत्रका ३ वटा छाता संस्थाका अध्यक्ष सदस्य छन् ।

निर्देशक समितिमा पेस गर्ने प्रस्ताव तयार गर्ने, सम्बद्ध सरोकारवालासँग आवश्यक समन्वय गर्ने र सम्मेलनको समग्र तयारीका लागि निर्देशक समितिलाई आवश्यक सहयोग गर्ने जिम्मेवारी कार्यान्वयन समितिको हो । मुख्य सचिवको संयोजकत्वमा विषयगत मन्त्रालयका सचिव, डेपुटी गभर्नर र निजी क्षेत्रका छाता संस्थाका अध्यक्ष सदस्य रहनेगरी कार्यान्वयन समिति बनाइएको छ ।

लगानी सम्मेलनमा प्रस्तुत हुने आयोजनाको स्थिति विश्लेषण गरी परियोजनाको अवधारणा बनाउने, सम्मेलनमा प्रस्ताव गर्ने आकर्षक र भरपर्दो आयोजनाको विकास गर्ने, सम्मेलनमा गरिने विभिन्न समझदारीपत्र तथा सम्झौताको आवश्यक तयारी गर्नेलगायत कामका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव संयोजक रहने गरी विभिन्न विषयगत मन्त्रालयका सहसचिवसहितको प्राविधिक समिति बनाइएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया