लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैन : अध्यक्ष ढकाल

 पुस १८, २०८० बुधबार १७:२६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रङ्क लाइनको विषयमा उद्योगी र विद्युत् प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आज बुधवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा अध्यक्ष ढकालले डेडिकेटेड र ट्रङ्क लाइनकाे विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएकाे हाे । उहाँले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र लगानी सम्मेलनसमेत गर्न लागेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइन विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा बढेको बताउन भयो । प्राधिकरणले काटेकाे उद्याेगहरूकाे लाइन तत्काल जाेडेर समस्याकाे समाधान गर्नुपर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘डेडिकेटेड र ट्रङ्क लाइनको सन्दर्भमा उद्योगी व्यवसायी र प्राधिकरणबीच विवाद बढेको छ । उद्याेगी र प्राधिकरणबीचकाे विवाद तत्काल समाधान हुनुपर्छ । कोभिडबाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र सरकारले लगानी सम्मेलनसमेत गर्न लागेको अवस्थामा याे विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जान्छ । देशकाे समग्र आर्थिक गतिविधि बढाउन, व्यापार बढाएर राजस्व वृद्धि गर्न, रोजगारी सिर्जना गर्नका लागि भए पनि सरकारले डेडिकेटेड र ट्रङ्क लाइनको विवाद तत्काल समधान गर्नुपर्छ । प्राधिकरणले एकलौटी निर्णय गरेर उद्योगहरूको लाइन काटेको छ । प्राधिकरणले तत्काल लाइन जोड्नुपर्छ ।’

अध्यक्ष ढकालले चार महिनाअघि प्राधिकरणले उद्योगको लाइन काट्न सूचना निकाल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाइन नकाट्न निर्देशन दिएकाे स्मरण गर्नुभयाे । उहाँले सरकारले उद्योगी व्यवसायी र प्राधिकरणबीच विवाद बढ्न नदिई हस्तक्षप गर्न आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया