नेपालगञ्ज एकीकृत जाँच चौकी निजी कम्पनीले चलाउने, ५ वर्षमा सरकारले २० करोड ८८ लाख पाउने

 पुस १९, २०८० बिहिबार १४:५६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालगञ्ज एकीकृत जाँच चौकीको सञ्चालन तथा व्यवस्थापनका लागि निजी कम्पनी छनोट भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले टिआर एस एटलस लोजिपार्क प्रालिसँग पाँच वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी करार सम्झौता सम्पन्न भएको हो ।

कम्पनी छनोटका लागि समितिले गएको असार ३१ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेकोमा दुई वटा कम्पनी सहभागी भएका थिए । दुई वटा कम्पनीमध्ये मूल्याङ्कन प्रक्रियाबाट एटलस टर्मिनल जेभी छनोट भएको हो । अब नेपालगञ्ज एकीकृत जाँच चौकी समितिलाई हस्तान्तरण भएको मितिदेखि सञ्चालन तथा व्यवस्थापन टिआर एस एटलस लोजिपार्क प्रालिले गर्ने समितिले जनाएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन नेपालगञ्ज एकीकृत जाँच चौकीको काम अन्तिम चरणमा पुगेको छ । भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको र अहिले पानी ट्याङ्की, सीसीटीभी क्यामेरा जडान, नेटवर्किङ, अग्नि नियन्त्रण प्रणाली लगायतका कामहरू भइरहेको छ ।

गएको जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा याे चाैकीकाे उद्घाटन गर्नुभएकाे थियाे ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भन्नुभयो, ‘म तीन वर्ष अगाडि समितिमा आउँदा समितिअन्तर्गत छ वटा बन्दरगाह सञ्चालनमा थिए जसमध्ये चार वटा निजी क्षेत्रमार्फत र दुई वटा समिति आफैँले सञ्चालन तथा व्यवस्थापन गरिरहेको थियो । आजसम्म आउँदा हामीसँग आठ वटा बन्दरगाह छ र सबै प्रतिस्पार्धात्मक प्रणालीबाट छनाेट भएका निजी क्षेत्रका कम्पनीहरूमार्फत सञ्चालन भइरहेका छन । यसबाट सेवाको स्तरवृद्धि सँगै राज्यको आम्दानी पनि बढेको छ ।’

अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि यस किसिमका बन्दरगाहहरू निजी क्षेत्रमार्फत सार्वजनिक निजी साझेदारी (पीपीसी) मोडेलमा सफलतापूर्वक सञ्चालन भएको पाइएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया