१० हजार मेगावाट बिजुली बेचेर नेपालले वार्षिक ९ खर्ब रुपैयाँ आम्दानी गर्न सक्छ

 पुस २०, २०८० शुक्रबार १५:२१:२८ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । वर्षायाममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ्चार गरेको छ ।

देशको चुलिँदो व्यापार घाटालाई कम गर्ने उपयुक्त माध्यमका रूपमा बिजुली व्यापारलाई लिइएको छ । नेपालको प्रचुर ऊर्जा क्षेत्रमा प्रविधि र लगानी जरुरी छ । कानुनी एवम् संरचनागत सुधार जरुरी रहेको विषयलाई निजी क्षेत्रले प्राथमिकतामा राख्दै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भौतिक विकास निर्माणमा खासगरी वन क्षेत्रको जग्गा प्रयोग, जग्गा प्राप्ति तथा कानुनी उल्झन बेहोर्दै आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका शब्दमा प्रसारण लाइनको एउटा टावर निर्माण गर्नु नै एउटा आयोजना निर्माण गर्नु सरह छ ।

निर्माणाधीन प्रसारण लाइनहरू धेरैजसाे समस्यामा छन् । कतै निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, कतै स्थानीयको अवरोध, अन्तर सरकारी निकायबीच समन्वयनको अभाव पनि नेपालको ऊर्जा क्षेत्रको साझा समस्याका रूपमा चित्रित छ ।

बिहीवार नेपाल र भारतबीच आउँदाे १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । गएकाे जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको भारत भ्रमणका क्रममा याे सहमतिपत्रको प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका उहाँका भारतीय समकक्षी डा. एस जयशङ्करको उपस्थितिमा दुई देशका ऊर्जा सचिवले सहमतिपत्र आदानप्रदान गर्नुभएको थियो । सहमतिपत्रमा भने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा सिंहदरबारमा हस्ताक्षर भएको थियो । याे सहमतिसँगै नेपालले सहजरूपमा आफ्नो उत्पादन भारतीय बजारमा पठाउनका लागि मार्गप्रशस्त भएको छ । ऊर्जामन्त्री बस्नेतले बिहीवार भएको सहमतिलाई एउटा 'ब्रेक थ्रु' को संज्ञा दिँदै अब कार्यान्वयन पक्षलाई सबल बनाउनुपर्ने बताउनुभयो ।

चरम ऊर्जा सङ्कटबाट पार पाएर नेपाल पछिल्ला दिनमा ऊर्जा निर्यात गर्ने देशका रूपमा स्थापित भएको छ । पछिल्लो एक वर्षमा दैनिक झन्डै सात सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सफल भएको छ । सरकारको सार्थक पहलका कारण ऊर्जा क्षेत्रले गुणात्मक फड्को मारिरहेको सन्दर्भमा बजारको सुनिश्चिततासँगै लगानी विस्तार हुने निजी क्षेत्रको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीका अनुसार बिहीवार दुई देशबीच भएको सम्झौता ऐतिहासिक हो । असाध्यै महत्त्वपूर्ण सम्झौता भएको छ । ‘यसले लगानी विस्तारका लागि मार्गप्रशस्त भएको छ । अब सरकारले नीतिगतरूपमा रहेका समस्या समाधान गरेर थप सहज वातावरण बनाइदिनुपर्छ’, उहाँले भन्नुभयो, ‘वर्षाकाेे समयमा कोटाका आधारमा बिजुली उत्पादन गर्ने आयोजनाले समेत अब राहत पाउनेछन् ।’

एक वर्षमा बिजुली बिक्री गरेर १५ अर्ब २७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यसले पनि नेपालको बिजुली बिक्रीबाट उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन हुने अनुमान गर्न सकिन्छ । बङ्गलादेशले पनि नेपालको बिजुली लैजाने सहमति गरिसकेको छ । बिहीवारको सहमतिपछि त्रिपक्षीय साझेदारीका लागि पनि मार्गप्रशस्त भएको छ । नेपाल, भारत र बङ्गलादेशबीच उच्चस्तरीय कार्यदल निर्माण गरेर जाने विषयमा तीन वटै देश सहमत भइसकेका छन् । तत्कालका लागि भारतीय संरचनाको प्रयोग गरेर बङ्गलादेश बिजुली निर्यात गर्न सकिने भएको छ । त्यस्तै उच्च क्षमताको प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल जारी छ । त्यसले पनि छिट्टै सार्थकता पाउने छ ।

दुई देशबीच भएको सम्झौताको अवधि २५ वर्षको छ । प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ । क्षेत्रीय व्यापारलाई अझै वृद्धि गर्दै, दुई देशबीच विद्यमान, कार्यान्वयनमा रहेका र प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनलाई प्रयोग गरिने भएको छ ।

अहिले ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा छ । याे प्रसारण लाइनबाट अहिले आठ सय मेगावाट बिजुली आयात–निर्यात गर्न सकिन्छ । याे प्रसारण लाइनको क्षमता वृद्धि गरेर एक हजार मेगावाट बराबर बनाउने सम्बन्धमा सहमति भइसकेको छ । सन २०२५ को मेसम्ममा न्यु–बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । याे प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ ।

भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको क्षमता पनि नेपालले उपयोग गर्न पाउनेछ ।

यसअघि नै प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनका रूपमा रहेका चार सय केभी क्षमताका दोधारा–बरेली र इनरुवा–पूर्णीया प्रसारण लाइन निर्माण हुनेछ । सन २०२८ सम्म ती प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

सरकारले सन २०३५ सम्म कुल २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने रणनीतिक कार्ययोजना तयार पारिसकेको छ । याे कार्ययोजनामा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखको छ । त्यही लक्ष्यअनुसार सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने लक्ष्य लिएको मन्त्री बस्नेतको भनाइ छ ।

प्राधिकरणले नौ हजार एक सय ६४ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको बिजुली खरिद–बिक्री सम्झौता गरिसकेको छ । ऊर्जा मन्त्रालयका अनुसार हरेक वर्ष एक हजार मेगावाटको हाराहारीमा उत्पादन क्षमता थप हुनेछ ।

प्राधिकरणलगायतका सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना अगाडि बढाइएको छ । त्यसमा एक हजार दुई सय मेगावाटकाे बुढीगण्डकी, चार सय १० मेगावाटको नलगाड, छ सय ३५ मेगावाटको दुधकोशी, एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुणलगायतका आयोजना छन् ।

रणनीतिक महत्त्वको परियोजनाका रूपमा रहेको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको पनि अध्ययन शुरु भएको छ । कुल १० हजार आठ सय मेगावाट क्षमताको याे आयोजनाको अध्ययन आउँदाे तीन वर्षमा पूरा हुनेछ । विगत एक वर्षमा मात्र झन्डै दुई हजार एक सय ६९ मेगावाट बराबरको जलविद्युत् आयोजनासँग बिजुली खरिद सम्झौता भएको छ । यी सबै आयोजना सम्पन्न गर्ने गरी नीतिगत, संरचनागत सुधार गर्ने सरकारको प्रष्टोक्ति छ ।

सरकारले अगाडि सारेको सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने रणनीतिक कार्ययोजना कार्यान्वयनका लागि अन्तरसरकारी निकायबीच छलफल जारी छ । त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याएर कार्यान्वयनमा लगिने ऊर्जामन्त्री बस्नेतको भनाइ छ ।

भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट पनि नेपालले झन्डै दुई सय मेगावाट बिजुली प्राप्त गर्छ । सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती, चार सय ५० मेगावाट क्षमताको सेती नदी– ६ आयोजनालाई पनि भारतीय कम्पनी एनएचपीसीले अगाडि बढाउँदैछ ।

यस आधारमा बिजुली उतपादनका हिसाबले आउँदा दिनहरू नेपालका लागि थप स्वर्ण हुने अनुमान गर्न सकिन्छ ।

ऊर्जा क्षेत्रका जानकारका अनुसार (अहिले भारतलाई बिक्री गरिएको मूल्यलाई आधार मान्दा) प्रतियुनिट १० रुपैयाँमा बिजुली बिक्री गर्ने हो भने झन्डै नौ खर्ब रुपैयाँ बराबरको निर्यात गर्न सकिन्छ । वार्षिकरूपमा १० हजार मेगावाट बराबरको बिजुली निर्यातका लागि नेपालको कुल उत्पादन २५ हजार मेगावाटभन्दा बढी हुनुपर्नेछ । सरकारले तय गरेको लक्ष्यअनुसार काम भए सन् २०३५ सम्म आवश्यक बिजुली उत्पादन हुनसक्छ ।

‘सरकारले योजनाबद्धरूपमा नै सोच विचार गरेर नै लक्ष्य निर्धारण गरेको छ । अब हामीले यसमा दिनरात नभनेर काम गर्नैपर्छ । हामी सफल हुन्छौँ’, ऊर्जामन्त्री बस्नेतले भन्नुभयो । त्यसो त नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता पनि भएको छ । दक्षिण एसिया क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ग्रिड अवधारणामा पनि यसअघि नै सहमति जनाइएको छ ।

नेपालले के कति बिजुली बिजुली उत्पादन गर्ने ? आन्तरिकरूपमा कति खपत गर्नेलगायतका विषयमा स्पष्ट दृष्टिकोण बनाएर कार्यान्वयन गर्दै निर्यातलाई पनि प्राथमिकतामा राख्नुपर्ने दृष्टिकोण पनि यस क्षेत्रका जानकारहरूले सार्वजनिक गरेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पनि बजार सुनिश्चित भएकाले अब व्यापक मात्रामा लगानी विस्तार गरेर उत्पादनमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले बिहीवार भएको सम्झौतामा समावेश १० हजार मेगावाट न्यूनतम सीमा भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले बिहीवार नै दुई देशबीचको सम्झौतालाई बिजुली व्यापारका दृष्टिले कोशेढुङ्गा हुने प्रष्ट पार्नुभएको छ ।

ऊर्जा क्षेत्रमा लगानी विस्तार, पूर्वाधार निर्माण तथा विदेशी लगानी भित्र्याउने सवालमा राजनीतिक दलबीच पनि मतैक्य भएकाले एकाध वर्षभित्र नेपालले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सक्छ ।

सङ्घीय संसदमा विधेयक विचाराधीन अवस्थामा छ । त्यसलाई शीघ्र पारित गरेर निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने सरकारको तयारी छ । यस्तै प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सहभागी गराउने सरकारको तयारी छ । पछिल्लो पुस्ताको ऊर्जाका स्रोतका रूपमा परिचित 'ग्रीन हाइड्रोजन' लाई पनि प्राथमिकतामा राखिएको छ । जलविद्युत् आयोजनाबाटै 'ग्रीन हाइड्रोजन' उत्पादन गर्न सकिने प्रशस्त सम्भावना छ । सरकारले त्यसका लागि नीतिगत प्रबन्ध गर्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया