एसियाको सबैभन्दा धनी व्यक्तिमा फेरि भारतका अडानी

 पुस २०, २०८० शुक्रबार १९:१५:१६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको शेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रवार एक पटक फेरि एसियाको सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ ।

अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो । प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको आरोप लगाइएको थियो ।

टेस्लाका संस्थापक एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा दोस्रो धनी व्यक्ति बन्नुभएका अडानीको व्यक्तिगत सम्पत्ति झन्डै ८० अर्ब डलरले घटेको थियो । यद्यपि सार्वजनिक छानबिनमा कमी आएपछि अडानी र उहाँको व्यवसाय दुवैले ती घाटामध्ये धेरैजसोलाई कम गरेका छन् ।

ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार यस हप्ता अडानीको कुल सम्पत्ति झन्डै सात अर्ब ७० करोड डलरले बढेर ९७ अर्ब ६० करोड डलरसम्म पुगेको छ । उहाँको सम्पत्ति भारतीय टाइकुन मुकेश अम्बानीभन्दा थोरैले बढी छ । मापनअनुसार यी दुवै जना धनी व्यक्तिको सूचीमा अहिले विश्वको १२ औँ र १३ औँ स्थानमा हुनुहुन्छ ।

भारतको सर्वोच्च अदालतले हिन्डनबर्ग आरोपहरूको अनुसन्धानको दायरालाई बढाउन माग गर्ने निवेदनलाई खारेज गरेपछि यस हप्ता सूचीबद्ध अडानी समूहका कम्पनीहरूको शेयर उकालो लागेको छ । अदालतले बजार नियामकहरूले गरेको विद्यमान अनुसन्धान पर्याप्त भएको बताएको छ ।

‘सम्माननीय सर्वोच्च अदालतको फैसलाले सत्यको जित भएको देखाएको छ’, फैसलापछि अडानीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘म हाम्रो साथमा उभिनेहरूप्रति आभारी छु, भारतको विकास गाथामा हाम्रो विनम्र योगदान जारी रहने छ ।’

हिन्डनबर्गको प्रतिवेदनअघि अडानी समूहको शेयर मूल्य तीव्ररूपमा बढेको थियो र समूहको मुख्य सूचीबद्ध एकाइले सन् २०२३ जनवरीसम्म पाँच वर्षमा एक हजार प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेको थियो । यसबाट समूहको खतरनाक विस्तारलाई आर्थिक सहयोग गरेको थियो ।

समूहको पहुँच अहिले कोइला खानी, नवीकरणीय ऊर्जा, बन्दरगाह, विमानस्थलसहित धेरै प्रमुख क्षेत्रमा विस्तार भएको छ । अडानीलाई गुजरात राज्यका स्थानीयवासी एवम् हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । विपक्षी दल तथा अन्य आलोचकहरूले उहाँहरूबीचको सम्बन्धले अडानीलाई अनुचितरूपमा व्यापार जित्ने र उचित निरीक्षणबाट बच्न सहयोग पुगेको बताएका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया