लाल सागरमा तनाव : विश्व व्यापार महँगिँदै, एसियादेखि युरोपसम्म सामग्री ओसारपसार गर्ने भाडा ३ गुणासम्म बढ्यो

 माघ ८, २०८० सोमबार १८:३९:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अन्तर्राष्ट्रिय व्यापारिक मार्ग लाल सागर तनावग्रस्त हुँदा एसिया–युरोपको व्यापार महँगिन थालेको छ ।

इजरायलले गाजामा आक्रमण गरेको प्रतिकारमा हुथी विद्रोहीले लाल सागरमा पानीजहाजमाथि आक्रमण गरिरहेको छ । हुथीविरुद्ध अमेरिका, बेलायतलगायतले आक्रमण थालेपछि लालसागर तनावग्रस्त छ । गाजाका निहत्था नागरिक नरसंहारको सिकार बनिरहँदा त्यसको प्रभाव लाल सागरतर्फ पुगेर विश्व–व्यापार प्रभावित बन्न थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

लाल सागर र भूमध्यसागर जोड्ने स्वेज नहर हुँदै विश्वको झन्डै १२ प्रतिशत व्यापार हुन्छ । आन्ध्र महासागरदेखि पश्चिम एसियासम्म फैलिएको भूमध्यसागरले युरोपलाई अफ्रिकासँग छुट्याउँछ ।

त्यस्तै इजिप्टको स्वेजदेखि एडेनको खाडी हुँदै अरब सागरसम्म फैलिएको लाल सागरले इजिप्ट, सुडानलगायत अफ्रिकी देशलाई पश्चिम एसियाका साउदी अरब र यमनबाट छुट्याउँछ । यमनमा आश्रय लिइरहेका हुथी विद्रोहीले स्वेज नहर हुँदै लाल सागरमार्फत युरोपबाट एसिया पुग्ने जहाजमा रकेट र ड्रोन आक्रमण गर्ने गरेका छन् । अहिलेसम्म मानवीय क्षति नभए पनि लाल सागरमा हुथी आक्रमणमा परेर केही जहाज क्षतिग्रस्त भएका छन् । अमेरिकी जलसेनाले थुप्रै ड्रोन र मिसाइल नष्ट गरेकाले क्षति कम भए पनि यो प्रत्याक्रमण महँगो भइरहेको छ ।

लाल सागरको तनावले सामान ओसार्ने जहाजले सिङ्गो अफ्रिका घुम्दै यात्रा गरिरहेका बीबीसीले जनाएको छ । यसका कारण एसियादेखि युरोपसम्म सामग्री ओसारपसार गर्ने भाडा ३ गुणा महँगिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया