सुनको भाउ एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढ्यो
असोज ४, २०८१ शुक्रबार
काठमाण्डाै – देशलाई छिट्टै पूर्णरूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्था बनेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।
प्राधिकरणको कार्यकारी निर्देशकमा पछिल्लो पटक नियुक्त भएको तीन वर्ष पूरा भएको अवसरमा आज पत्रकार सम्मेलन गरी उहाँले उपलब्धि सार्वजनिक गर्नुभएको छ । मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । यसअघि पनि उहाँ एक कार्यकाल कार्यकारी निर्देशक हुनुभएकाे थियाे ।
आठ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । त्यसमा तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत पुगेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको प्रगति विवरणमा उल्लेख छ । अब छिट्टै पूर्णरूपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्था बनेको उहाँको भनाइ छ ।
साथै नेपालबाट बङ्गलादेशमा बिजुली निर्यात यसै वर्ष शुरू हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विश्वास छ । अहिले आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बङ्गलादेशका निकायबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ । तर अहिले बङ्गलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले सम्झौता रोकिए पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष बिजुली निर्यात शुरू हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वास व्यक्त गर्नुभयो ।
आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । त्यस्तै आठ वर्षअघि प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको र त्यसयता चुहावट नियन्त्रणका लागि चालिएका कदमबाट १२ दशमलव ७३ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । चुहावट नियन्त्रणबाट प्राधिकरणले यस अवधिमा प्रतिवर्ष झन्डै १२ अर्ब रुपैयाँ थप आम्दानी गरेको छ ।
उहाँका अनुसार अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डेटा सेन्टर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने कार्यकारी निर्देशक घिसिङले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।