दशैँ मनाउन गाउँघर फर्कनेलाई सडकको चिन्ता, केही सडक खण्ड अझै ...
असोज २२, २०८१ मंगलबार
काठमाण्डौ – गएको साउन ३२ गते हिमताल फुटेर सोलुखुम्बुको थामे खोलामा बाढी आयो । त्यही दिन मौसम पूर्वानुमान् महाशाखाले विज्ञप्ति निकालेर थामे नजिकै फोर्चेमा सात दिनमा ६५ मिलिमिटर वर्षा भएको जानकारी गरायो । महाशाखाका अनुसार त्यो वर्षा त्यहाँ हुने औषत वर्षाभन्दा अत्यधिक हो ।
निकै कम पानी पर्ने हिमाली क्षेत्रमा मनसुनी वर्षा धेरै हुन थालेको यो एउटा उदाहरण मात्रै हो । यस्तो समस्या बढिरहेको हिमाली क्षेत्रका बासिन्दा बताउँछन् । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्षसमेत रहेका स्थानीयबासिन्दा आङजेन गुरुङ केही वर्षदेखि वर्षायाममा बढी पानी पर्न थालेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ ‘पहिले–पहिले जेठ असारतिर अलिअलि पानी पर्थ्याे, अहिले असारदेखि पानी परेको पर्यै छ ।’ गुरुङका अनुसार मुस्ताङमा पहिलेपहिले पर्याप्त हिउँ पथ्र्यो तर पानी पर्ने बेलामा सिमसिम पानी मात्रै पथ्र्यो तर अहिले हिउँ कम पर्न थालेको छ भने पानी धेरै पर्न थालेको छ ।
लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छयुमी विष्ट पनि पर्याप्त हिउँ पर्ने हिउँदमा कम हिउँ पर्न थालेको र सिमसिमभन्दा ठूलो पानी नपर्ने वर्षायाममा झरी पर्न थालेको बताउनुहुन्छ । मौसममा आएको फेरबदल समस्या बन्दै गएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ ‘आठ–दश वर्षदेखि मौसममा समस्या आउन थालेको अनुभव भएको हो । अहिले त निकै समस्या आइसक्यो, साउन भदौमा पानी परेर खपिनसक्नु छ ।’
मनसुन पाँच हजार मिटरसम्म !
मनसुनी वायु सामान्यतया तीन हजार मिटरको आसपाससम्म पुग्छ । अझ दुई हजार पाँच सय मिटरको आसपासबाट वर्षा निकै कम हुन्छ । तर अहिले निकै माथिसम्म पानी पर्न थालेको जलवायु विज्ञ डा. ङमिन्द्र दाहाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘अहिले पाँच हजार मिटरसम्म पुगेको छ । यो सामान्य समस्या होइन ।’
०७९ सालको साउनमा प्रकाशित ‘जलवायु परिवर्तनबारे तल्लो मुस्ताङका किसानको धारणा’ शीर्षकको अनुसन्धानपत्रमा तल्लो मुस्ताङमा पछिल्लो ४५ वर्षमा औसत वार्षिक तापक्रम शून्य दशमलव ०२१ डिग्री सेल्सियस प्रति वर्षका दरले र वार्षिक औसत वर्षा एक दशमलव ८३ मिलिमिटर प्रति वर्षका दरले बढेको उल्लेख छ ।
स्थानीय बासिन्दाको भोगाई र भएका मापन केन्द्रको तथ्याङ्क दुवैले हिमाली क्षेत्रमा वर्षाको दर बढिरहेको देखाउँछ ।
हिमाली क्षेत्रमा वर्षाको मात्रा बढिरहेको तर पर्याप्त मापन केन्द्रहरु नभएकाले प्रष्ट विवरण नरहेको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूती पोख्रेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘जटिल भूगोल र सञ्चालन खर्च अत्यधिक हुने भएकोले मापन केन्द्रहरु कम छन्, हिमाली क्षेत्रमा समस्या बढेकाले बिस्तार गर्नुपर्ने देखिएको छ ।’
कृषि र पशुपालनमा समस्या
हिउँ र पानीको चक्र बिथोलिँदा त्यसको प्रत्यक्ष असर हिमाली क्षेत्रको खेतीपाती र पशुपालनमा परेको छ । असार–साउनमा ठूलो वर्षा हुँदा फापर, उवा लगायतका बालीमा असर गरेको आङजेन गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार हिमाली क्षेत्रमा प्रायः वर्षमा एउटा बाली मात्रै उत्पादन हुन्छ । हिउँदमा पर्याप्त हिउँ पर्ने र त्यही हिउँको चिसोमा बाली हुर्कने गरेकोमा अहिले हिउँ कम हुँदा सिँचाइ अभाव हुने समस्या आएको छ । यस्तै बाली भित्र्याउने बेलामा धेरै वर्षा हुँदा पाक्न लागेको बालीमा क्षती पुगेको स्थानीयबासिन्दा बताउँछन् ।
कृषि जस्तै पशुपालनमा पनि समस्या बढिरहेको छ । हिउँका खर्कमा हुर्कने घाँस कम हुँदै जानु, धेरै पानी पर्दा हिमाली वनस्पती हुर्कन नपाउनुले चरण अभाव भएको छ । यस्तै हिउँ र कम वर्षामा हुर्कने चौंरीगाइ, भेडा च्याङ्ग्राको स्वास्थ्यमासमेत समस्या आउन थालेको छ्यूमी विष्ट बताउनुहुन्छ ।
विपद्का घटना बढ्दै
पशुपालन र कृषिमा समस्यासँगै विपद्का घटना पनि बढेका छन् । २०७८ सालमा असार नलाग्दै भएको झरीले मनाङमा ठूलो क्षती पुर्यायो । मनाङ सदरमुकाम चामेबजार वरपरका दुई वटा खोलाको बहाव बढ्दा सयौं घर भत्किए वा डुबानमा परे । यो बाढी आउनुभन्दा चार पाँच दिन अघिदेखि मनाङमा दर्के झरी नै परेको थियो ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार मनाङको हुम्देमा रहेको वर्षामापन केन्द्रले ०७८ असार १ गते ८२ दशमलव २ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको थियो । हुम्देमा सन् २०१५ देखि २०२० सम्मको वर्षाको स्थितिका आधारमा जुन महिनामा औषत वर्षा ४२ मिलिमिटर हुने गरेकोमा २०२१ को जुनमा १५ दिनको अवधिमै एक सय ९७ मिलिमिटर वर्षा भएको थियो ।
त्यही वर्ष मे महिनाको सरदर वर्षा २४ मिलिमिटर रहेकोमा एक सय ६६ मिलिमिटर वर्षा भएको थियो । यस्तै अघिल्लो वर्ष अर्थात २०८० सालको साउनमा मुस्ताङको कागवेनीमा बाढीले कैयौं घर डुवानमा परे । सामान्यतया पहिरो नजाने मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लामा बाढी, पहिरोका घटना बढ्नुको कारण त्यहाँ भएको वर्षा नै रहेको जलवायुविज्ञ डा. ङमिन्द्र दाहाल बताउनुहुन्छ ।
तस्बिर : नेपाली सेना
गृह मन्त्रालयअन्तर्गत विपद् पोर्टलको तथ्याङ्कमा मुस्ताङ र मनाङमा पछिल्लो एक दशकमा झरी, हिमपहिरो, बाढी र पहिरोका घटना बढ्दै गएको देखिन्छ । सन् २०१४ देखि अहिलेसम्ममा मनाङ र मुस्ताङमा गरी ३२ वटा पहिरो र २४ पटक बाढी आएको देखिन्छ । मुस्ताङमा गएको वर्ष मात्रै चार ठाउँमा आएको बाढीले झन्डै २० करोड बराबरको धनमाल क्षती भएको र मनाङमा २०७८ सालमा आएको बाढीले तीन अर्ब रुपैयाँ बढीको क्षती गरेको तथ्याङ्क छ । यसरी हिमाली क्षेत्रमा वर्षाजन्य विपद् र क्षती दुबै बढिरहेको छ ।
हिमाली क्षेत्रमा बढेका विपदका घटनामा मुख्य कारण तापक्रममा भएको वृद्धिसँगै मनसुनी वर्षा हिमालतिर उक्लनु रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् पोखरेल बताउनुहुन्छ ।
विपदका घटना बढ्नुसँगै परम्परागत घरले ओत दिन नसक्ने अवस्था भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष आङजेन गुरुङ माटोका छाना भएका घरमा त्रिपाल अनिवार्य भएको बताउनुहुन्छ । यसअघि सिमसिम पानी मात्रै पर्ने भएकोले धेरैजसो घरमा माटोको छाना हुन्थ्यो ।
हिउँ कम, वर्षा धेरै, मनसुनमै चिसो
झन्डै २० वर्षदेखि हिमाली क्षेत्रमा हुने वर्षाको बारेमा अध्ययन गर्दै आउनुभएका जलवायुविज्ञ दाहाल जलवायु परिवर्तनका कारण तापक्रम बढेपछि हिमाली क्षेत्रमा धेरै फेरबदल देखिएको बताउनुहुन्छ । मनसुनमा पानी पर्नुसँगै मनसुनी वायु हिमाल वारपार गर्न थाल्दा मनसुनको समयमा चिसो अनुभवसमेत हुन थालेको उहाँको भनाइ छ ।
दाहाल भन्नुहुन्छ, ‘सामान्यतया मनसुनी वायु हिमालभन्दा मुनी रहने हो, तर अहिले हिमालको शिखरभन्दा माथि जान थालेको छ । यसो हुनासाथ मनसुनी वायु हिमाल पार भयो र यताको हावा उता जाँदा उताको चिसो हावा यता आयो, यसैले चिसो नहुनुपर्ने मनसुनमा चिसो भयो ।’
हिमाली भेगमा वर्षा हुनु र हिउँ कम हुनुको मुख्य कारण जलवायु परिवर्तन वा तापक्रममा भएको वृद्धि नै मुख्य रहेको जलवायु विज्ञ दाहाल बताउनुहुन्छ । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा वर्षा बढ्ने र हिउँ घट्ने क्रम बढेको विज्ञहरु बताउँछन् । हिमाली क्षेत्रमा बढ्दो विपद् र कृषि, पशुपालनमा आइरहेको समस्यालाई सम्वेदनशील मानेर अनुकूलनका काम थाल्न ढिलो भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।