एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण ५० वर्षको उमेरपछि देखिने मुटुरोग आजभोलि २० देखि ३५ वर्षकै उमेरमा देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।
काठमाण्डौ मेडिकल कलेज (केएमसी) का मुटुरोग विशेषज्ञ डा. आदित्य महासेठका अनुसार पछिल्लो समय युवा अवस्थामै मुटुरोगका बिरामी बढ्दै गएका छन् । ‘पहिलेका मान्छेहरू दिनभर शारीरिक श्रम गर्थे, अहिले दिनभर कम्प्युटरमा बस्छन् । जङ्कफूड खाने, चुराेट खाने र शारीरिक अभ्यास नगर्ने बानीले यस्तो समस्या बढेको हो’, उहाँले भन्नुभयो ।
विशेषगरी चुरोट खाने व्यक्तिमा हृदयघातको जोखिम तीन गुणा बढी हुने अध्ययनले देखाएको डा. महासेठले बताउनुभयो । त्यस्तै मान्छेको शरीरमा कोलेस्ट्रोल बढी बन्ने र शरीरका कोषहरूले त्यो कोलेस्ट्रोल लिन नसक्ने भएकाले पनि मुटुको नशा बन्द भई हृदयघात हुने गरेको उहाँको भनाइ छ ।
प्रदूषित वातावरणले पनि मुटुरोगको जोखिम बढाएको छ । प्रदूषणले शरीरमा भएको सामान्य कोलेस्ट्रोललाई अक्सिजन रेडिकल बनाउने र त्यो रगतमा जम्मा भएर हृदयघातको कारण बन्ने डा. महासेठ बताउनुहुन्छ ।
मुटुरोगबाट बच्न आवश्यक मात्रामा मात्र क्यालोरी लिने, स्वस्थ खानेकुरा खान र नियमित शारीरिक अभ्यास गर्न चिकित्सकको सुझाव छ । त्यस्तै २० वर्ष पुगेपछि एकपटक कोलेस्ट्रोलको जाँच गर्न र परिवारमा मुटुरोगको इतिहास भए नियमित स्वास्थ्य परीक्षण गर्न चिकित्सले सल्लाह दिएका छन् ।
संसारमा सबैभन्दा बढी मृत्यु हुने कारण मुटुरोग नै भएको र नेपालमा यसको उपचार विश्वकै सस्तो मूल्यमा उपलब्ध भएकाले समयमै परीक्षण र उपचार गर्न केएमसीका डा. महासेठको आग्रह छ ।
जाडोयाममा मुटुरोगीले विशेष सतर्कता अपनाउनुपर्ने डा. महासेठको सुझाव छ । चिसोले मुटुको चाल र रक्तचाप बढ्ने हुन्छ । त्यसैले यस्ता समस्या भएका बिरामीमा जाडो महिनामा हृदयघातको जोखिम बढी हुन्छ । निमोनिया भएको सात दिनभित्र पनि हृदयघात हुने जोखिम बढी हुने अध्ययनले देखाएको उहाँले बताउनुभएको छ ।
मुटुरोगको लक्षणमा छाती दुख्ने, स्याँस्याँ हुने, ढुकढुक हुने, आवश्यकताभन्दा बढी थकान लाग्ने र बेहोश हुने वा रिँगगटा लाग्ने प्रमुख रहेका छन् । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन डा. महासेठको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।