राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण
चैत ३, २०८१ आइतबार
मान्छेहरू अझै पनि दुःख पाइयो भनेर रुन्छन् । काम पाइएन भनेर झोक्राउँछन् । अन्तै गए होला कि भनेर झोलाझाम्टा बोकेर विदेश कुद्छन् । औषधि उपचारका लागि चारतिर भौँतारिन्छन् । पढाइ गतिलो पार्न संसार चाहार्छन् । पेट भर्न कोही हात थाप्छन् । कोही भनेजस्तो नभएर साथ छाड्छन् । आशा गर्दागर्दै कोही निराश भएर थाक्छन् । जता फर्के पनि निराशै मात्र देखेर कोही दिक्दार हुन्छन् । जति गर्दा पनि केही नहुँदा कोही आत्तिन्छन् । अनि कहिले आफूलाई धिकार्छन्, कहिले शासकहरूलाई सराप्छन् ।
दुःख, चिन्ता, शोक, निराशा, असन्तुष्टि र आक्रोशमा रुमल्लिएर बसेका नेपालीले आफ्नो दुःखका दिन सकिनै लागेको चाहिँ पत्तो पाएका छैनन् । एक पटक आँखा खोलेर बाहिर हेरौँ त, सुखैसुखको खात लगाउन तँछाडमछाड गर्नेहरूको सङ्ख्या दिनहुँजसो थपिँदो छ । पहिले गणतन्त्रवादीहरू सुख बाँड्न अघि सरे । त्यो बेला नयाँ र राजावादीले केही बाँड्न पाएनन् । गणतन्त्रवादीले बाँडेको सुखले न तन भरियो, न मन । धन त झन् गणतन्त्रवादीले आफैँ कुम्ल्याए । नागरिक जस्ताका तस्तै ! नागरिकको दुख देखेर नयाँहरू दुःखी भए । अनि दुःख हटाउन अघि सरे । नयाँहरू पहिले आफैँ सुखी भए । त्यसपछि मात्रै नागरिकलाई सुख दिन अघि सरे । नयाँले दिएको सुख लिन नपाउँदै नयाँले लिएका सुखको पोल खुल्यो । नयाँले दिन थालेको सुख अपुरैमा तुहेपछि जनताका दुःख देखेर राजावादीका आँखा रसाए । जिउँदाले सुख दिन सकेनन् भन्दै राजावादीले चिहानतिर चियाए । मसानबाट उठेर एक जनाले फुत्त हात उठाए । त्यसपछि राजावादी हौसिएर सुख बाड्न अघि सरे । सुख दिने लाइनमा एकपछि अर्को थपिँदा के होला ?
पछि त केके पो होला, अहिलेलाई चाहिँ कम्तीमा रोजगारी पक्का । हातमा एउटा झण्डा बोकेर राजावादीहरूको हुलमा पसेपछि कामको ज्याला पनि मिल्यो, माम पनि । पहिले पहिले दलहरूले यसैगरी झण्डा बोकाएर उफार्थे । गाउँगाउँबाट बस चढाएर मासुभात खुवाउँदै ल्याउँथे । सित्तैमा खान पनि पाइने, घुम्न पनि मिल्ने । दलहरू हिजोआज सत्ताको फन्को लाउन व्यस्त छन् । उनीहरूलाई सडकमा जाने फुर्सद छैन । फुर्सदमा उनै पूर्वराजा र राजावादी छन् । त्यसैले आजकाल सडक हराभरा छ । रमितेहरूलाई पनि काम मिलेको छ । अहिलेलाई कम्तीमा काम र माम मात्रै मिलेको छ । पछि साँच्चै राजा र राजावादीहरूको दिन फर्कियो भने अरू के के फर्किन्छ भन्ने कुरा त झन्डै २० वर्षअघिको नेपाल हेर्दा भैहाल्यो । न धेरै बोल्नुपर्ने, न लेख्न । न कसैले भ्रष्टाचार गर्याे भनेर कराउनुपर्ने, न देश बनेन भन्ने चिन्ता नै । आनन्द र सुख मात्रै ।
राजा र राजावादीहरूबाट मिल्ने अपार सुख एकातिर, गणतन्त्रवादीबाट मिलिरहेको सन्तुष्टि अर्कोतिर । पहिले नारायणहिटीमा मात्रै राजा थिए । अहिले केन्द्रदेखि टोलटोलसम्म जताततै राजैराजा छन् । पहिले राजाको दर्शन गर्न घण्टौं लाइनमा उभिनुपर्थ्याे । अहिले दोबाटो, चौतारो र चोकचोकमा राजा भेट्न पाइन्छ । राजाकै अघिल्तिर उभिएर यसो भएन, त्यसो भएन भनेर भन्न पनि पाइन्छ । टोलका एक/दुई वटा राजा रिझाउन सकियो भने आफैँ राजा हुन पाइन्छ । राजा हुनु भनेको सुखसुविधा, अमनचैन र भोगविलासले भरिपूर्ण हुनु हो । दुइटा मात्रै चुनाव भएर सबैको राजा हुने पालो पुगिसकेको छैन । अब हुने दुई चुनावपछि राजा हुने पालो अरूको पनि आउँछ । त्यसपछि टोलटोलमै पूर्व र कोही वर्तमान राजा भेटिनेछन् । वर्तमानको राजा हुँदा यसै पनि डाडूपन्यू आफ्नो हातमा, दुःख र अभाव भोग्नु नपर्ने । पूर्वराजा हुँदा पनि राज्यको सेवा सुविधा थापिरहन पाइने । अहिले पूर्वविशिष्टको नाममा मात्रै यस्तो सेवा, सुविधा दिने कानून बन्दैछ । पछि हुँदै जाँदा चुनाव जित्ने र उठ्ने पनि विशिष्टमा गनिन सक्छन् । विशिष्टहरूले पाउने त्यो सेवा, सुविधा भोट खसाल्नेहरूको हात पनि पुग्ला । सेवा, सुविधा गाउँटोलसम्म पुगेपछि त जताततै सुखैसुख मात्र । गणतन्त्रकालकै राजा रहिरहे पनि सुख । चिहानबाट चिहाएका राजा फर्किए पनि सुख । त्यसपछि त नेपालीका दुश्मन हेरेको हेर्यै !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।