सगरमाथा संवादमा ३ सय ५० जनालाई निम्ताे, जलवायु परिवर्तनकाे मुद्दा उठाइने

 चैत २, २०८१ आइतबार १८:१५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ‘सगरमाथा संवाद’ मा विभिन्न देशका ३ सय ५० जनाभन्दा धेरैलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन झन्डै दुई महिनाभन्दा धेरै समय बाँकी रहँदा आज सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो ।

आउँदाे जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न देशका ३ सय ५० जनाभन्दा धेरैलाई निम्तो पठाइने बताउनुभयो । सरकारले निम्तो पठाइएकामध्ये १ सय ५० जनाभन्दा धेरै व्यक्ति सहभागी हुने अपेक्षा गरेकाे छ । निम्तो दिनका लागि विदेशमा रहेकाे नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित देशका राजदूतावासलाई प्रयोग गरिएको परराष्ट्र सचिव राईले बताउनुभयाे ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको जानकारी गराउनुभयाे । जलवायु परिवर्तनबाट भएको हानि तथा नोक्सानीबारे आवाज उठाइरहेको उहाँले बताउनुभयो ।

मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाएको उल्लेख गर्नुभयाे ।

सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ । खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवर्द्धन गरिने क्रियाकलापबारे पनि छलफल हुनेछ ।

सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोप, जोखिम न्यूनीकरण र पुनरोत्थानबारे छलफल हुनेछ । हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्यूनीकरण गर्दा भएका प्रयासबारे पनि छलफल हुनेछ ।

सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाई यात्रामार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको मुख्यसचिव अर्यालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया