नौ महिनाको कार्यकालमा सरकारले ऐतिहासिक महत्वको काम गरेको छ : प्रचण्ड

 मंसिर २१, २०७५ शुक्रबार १३:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको बचाउ गर्नु भएको छ ।

जनअपेक्षा अनुसार काम नभएको आलोचना भइरहँदा अध्यक्ष दाहालले नौ महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाउ गर्नु भएको हो ।

उहाँले अब सरकार नागरिकको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रीय रहेको दाबी समेत गर्नुभयो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारबहन सम्झौंता गर्नु, रेल सेवा सञ्चालनका लागि दुवै देशसँग समझदारी गरेर अघि बढ्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै त्यतापट्टि ध्यान दिन पनि उहाँले सरकारको आलोचकहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले चुनावमा गरिएको प्रतिवद्धता चार वर्षभित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पार्नुभयो । सरकारले धेरै ठूलो काम गरिरहे पनि त्यतातिर ध्यान पुग्न नसकेको अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अब त्यो समस्या हल हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने नागरिकको हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकार प्राप्त नभए न्यायको खोजीमा अदालत जाने पाउने व्यवस्था ऐनमै गरिएको पनि स्मरण गराउनुभयो ।

अध्यक्ष दाहालले देशलाई समृद्ध बनाउन वैज्ञानिक खोज तथा अनुसन्धानको क्षेत्रमा विशेष चासो राख्ने विषयमा पनि राजनीतिक नेतृत्वमा समस्या नरहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया