इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – आइतबार सुरु भएको अन्तर प्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्षसहित सोमबार सकिएको छ ।
प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा सोमबार सम्पन्न बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्ष निकाल्दै सकिएको हो । बैठकले मुख्यमन्त्रीहरुले उठाएका विषयहरुलाई समेटेर प्रतिवेदन तयार पार्न गृहमन्त्री रामबहादुर थापाको अध्यक्षमा ६ सदस्यीय कार्य दल गठन गरेको छ ।
गृहमन्त्री थापा अध्यक्ष रहने गरी गठन गरिएको कार्य दलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री युवराज खतिवडा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रहनु भएको छ ।
कार्यदलको सदस्य सचिवमा मुख्य सचिव लोकदर्शन रेग्मी रहनुहुने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । कार्य दलले एक हप्ताभित्र प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनमाथि पुस ३ गते बस्ने परिषदको बैठकले छलफल गरी आवश्यक निर्णय गर्ने पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
सोमबारको बैठकमा प्रदेश ५ का मुख्यमन्त्री पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आ–आफ्नो प्रदेशको कठिनाईबारे विस्तृत जानकारी गराउनु भएको थियो ।
आइतबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आ–आफ्नो प्रदेशको समस्याबारे जानकारी गराउनु भएको थियो ।
परिषद् बैठकमा प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन गर्न सीमित स्रोतका कारण ढिलाई हुन गएको उल्लेख गर्दै त्यसलाई गतिका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
संवैधानिक व्यवस्था अनुसार कानुन, स्रोत र कर्मचारीको उचित व्यवस्थापन गर्न ढिलाई नगर्न प्रदेश सरकारहरुले संघीय सरकारलाई यसअघि पनि पटक–पटक आग्रह गर्दै आएका थिए ।
परिषद बैठकले संघीयता कार्यान्वयनका लागि प्रदेशमा देखिएको समस्या समाधान गर्न प्रतिवेदन नै तयार पार्न कार्य दल गठन गरेको हो ।
कार्य दलले तयार पारेको प्रतिवेदनको आधारमा संघीयता कार्यान्वयनको कामलाई तीव्रता दिने परिषद बैठक निष्कर्ष रहेको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।