नेकपा स्थायी समितिको बैठक : दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

 पुष ७, २०७५ शनिबार १४:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफल शनिबार पनि जारी छ ।
 
पार्टी र सरकारको काम कार्वाहीबारे समीक्षा गर्ने मूल एजेण्डासहित एक हप्ता अघिबाट सूरु भएको स्थायी समितिको शनिबारको बैठकमा पनि अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । 

शनिबारको बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल तथा झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु रामबहादुर थापा र गिरिराजमणि पोखरेलले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिनु भएको थियो । परराष्ट्रमन्त्री समेत रहनु भएका प्रदीप ज्ञवालीले भने आइतबार बोल्नु हुनेछ । शनिबार अमेरिकाको भ्रमणबाट फर्की बैठकमा सहभागी हुनु भएका नेता ज्ञवालीले भोलीको बैठकमा बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनेछ ।

आइतबारको बैठकमा नेता ज्ञवालीले बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्षद्धय ओली र दाहालले दिनु हुनेछ । त्यसपछि यो प्रतिवेदन पारित गर्ने वा परिमार्जन गर्ने भन्ने विषय टुंगोमा पुग्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

नेकपा स्थायी समिति बैठकमा नेताहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।
केही पार्टी नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’मा सहभागी भएकोमा आत्माआलोचना गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसँग माग गरेका थिए । बैठकमा सरकारको काम कार्वाही प्रभावकारी गराउन भन्दै केही नेताहरुले मन्त्रीपरिषद पुनर्गठन गर्न पनि माग गरेका थिए ।

शनिबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो अमेरिकी भ्रमणबारे बिफ्रिङ गर्दै सफल भएको दाबी पनि गर्नु भएको थियो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया