‘सार्वजनिक बिदा विकृति नै भयो, आवश्यक निर्णय हुन सक्छ’

 पुष १६, २०७५ सोमबार ८:३८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – रौतहटको कटहरिया नगरपालिकाले मेयर सियाराम प्रसाद कुशवाहा जेलबाट छुटेको ‘खुसीयालीमा’ भन्दै आइतबार नगरपालिकाभित्र सार्वजनिक बिदा घोषणा गरियो । 

यसको चर्को आलोचना भएपछि दिउँसो मेयर कुशवाहलले विज्ञप्ति निकालेर नगरपालिकाका प्रशासकीय अधिकृतले बिदा घोषणा गरेको र आफूले पछि यो बिदा रद्द गरेको जानकारी गराउनुभयो । 

हत्या अभियोगमा जेलमा रहेका कटहरिया नगरपालिकाका मेयर कुशवाहालाई सर्वोच्च अदालतले सफाइ दिएपछि उहाँ शनिबार रौतहट पुग्नुभएको थियो । उहाँसँगै प्रतिनिधिसभा संसद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साह पनि रौतहट पुग्नुभयो । मेयर कुशवाहाको स्वागतका लागि नै सार्वजनिक बिदाको घोषणा गरिएको थियो ।

के अवसरमा, कहिले, कहिले बिदा दिने भनेर सरकारले वार्षिक क्यालेन्डर बनाएर राजपत्रमा प्रकाशित गरेर नै जानकारी दिने गरेको छ । सरकारले यो वर्ष २२ दिन सार्वजनिक बिदा कटौती समेत गरेको छ । कुनै पर्व तथा विशेष अवसरमा सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानमा पनि बिदा हुने गरेको छ ।

तर पछिल्लो समय प्रदेश र स्थानीय तहमा मनलाग्दी निर्णय गरी बिदा दिने चलन बढ्दो छ । यसको पछिल्लो उदाहरण रौतहट कटहरिया नगरपालिकाले दिएको सार्वजनिक बिदा हो । मेयर जेलबाट छुट्दा पनि सार्वजनिक बिदा दिनु विकृति भएको संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले उज्यालोलाई बताउनुभयो । उहाँले कहिले बिदा हुन्छ भनेर आम नागरिकले पहिले नै थाहा पाउनुपर्ने मान्यता रहेको बताउनुभयो । सार्वजनिक बिदा घोषणा गर्ने विधि र मापदण्ड नै छ ।

प्रदेश र स्थानीय तहका सरकारले धार्मिक एवं सांस्कृतिक अवसरमा वर्षमा ६ दिन मात्रै बिदा दिन सक्छन् । तर रौतहटको कटहरिया नगरपालिकाले मेयर जेलबाट छुटेको भन्दै दिएको बिदाबारे सरकारले चासो दिएको भन्दै यसबारे छलफल गरी बिदा दिने स्थानीय तह र जिम्मेवार व्यक्तिका बारेमा आवश्यक निर्णय हुन सक्ने अधिकारीले बताउनुभयो । ‘केन्द्र सरकारले सकेसम्म प्रदेश र स्थानीय सरकारलाई हस्तक्षेप नगर्ने नै नीति लिएको छ’ उहाँले भन्नुभयो, ‘विकृति बढ्दै गए त्यसलाई रोक्न आवश्यक निर्देशन दिन सक्ने संवैधानिक व्यवस्था छ ।’
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया