विवेकशील साझाको किचलो सतहमा, पार्टी गलत बाटोमा हिँडेको भन्दै थापाले सार्वजनिक गरे प्रतिवेदन

 पुष १६, २०७५ सोमबार १९:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ‘अबको आशा, विवेकशील साझा’ भन्दै चर्चा बटुलेको विवेकशील साझा पार्टीभित्र आन्तरिक किचलो देखिएको छ । 

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको १६ महिना नबित्दै आन्तरिक किचलो सतहमा आएको हो । एकताका बेला दुवै दलका तत्कालीन अध्यक्षहरु उज्ज्वल थापा र रवीन्द्र मिश्र नयाँ गठन भएको विवेकशील साझा पार्टीको संयोजक बनेका थिए । 

अहिले संयोजकमध्येका एक थापाले विवेकशील साझा पार्टीका सदस्यहरुका लागि भन्दै तयार पार्नु भएको १८ पृष्ठ लामो समीक्षा प्रतिवेदनमा पार्टी गलत बाटोमा हिँडिरहेको दावी गर्नुभएको छ ।  

थापाले भन्नुभएको छ, ‘संघीय र प्रादेशिक निर्वाचनको सफलतापश्चातको एक वर्षको अवधिमा मैले विभिन्न घटनाक्रम, व्यक्तित्वहरु र सदस्यहरुको अनुभवहरुलाई समेट्ने र अनुशरण गर्ने मौका पाएँ । यसैका आधारमा म यो निष्कर्षमा पुगेको छु कि विवेकशील साझा पार्टी अहिले समग्रमा गलत बाटो तर्फ गइरहेको छ ।’  

थापाले तयार पार्नुभएको प्रतिवेदनमा दलले होस र जोसलाई अँगाल्न नसकेको, शक्ति केन्द्रिकरणका कारण दललाई बन्धक बनाएको, डरको राजनीति हावी भएको, नेतृत्वमा कमजोरी देखिएको जस्ता कुराहरु उल्लेख छन् । 

पार्टीले अत्याधिक चर्चाका वाबजुद पनि गएको संसदीय चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेको पनि उहाँले उल्लेख गर्नुभएको छ । विवेकशील साझा पार्टीको अहिले प्रदेश ३ मा ३ सांसद छन् भने संघीय सांसदमा कुनै सिट हात पार्न सकेन । पछिल्लो समय नेता कार्यकर्तामा उत्साह कम भएको पनि प्रतिवेदनमा थापाले उल्लेख गर्नुभएको छ ।  

यसैबीच पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पार्टीको उच्च तहमा छलफल नै नगरी प्रतिवेदन बाहिर ल्याउनु संयोजक थापाको गैरजिम्मेवार प्रवृत्ति देखिएको बताउनुभयो ।

थापाले सार्वजनिक गर्नुभएको प्रतिवेदन पार्टीको आधिकारिक धारणा नरहेको भन्दै उहाँले पार्टीको एकीकरणदेखि नै देखिएको संयोजक थापाको अकर्मण्यता र गैरजिम्मेवार कार्यशैलीप्रति केन्द्रीय समिति बैठकमा समीक्षा गरिने आचार्यले बताउनुभयो ।  

अहिले पार्टी निर्माणकै चरणमा रहेको र पार्टीको गतिविधिलाई अझ विस्तारित गर्दै लैजानुपर्नेमा संयोजककै जिम्मेवारीमा रहेका थापाले एकलौटी हिसाबले व्यक्तिगत समीक्षा गरी प्रतिवेदन सार्वजनिक गर्नु सुसंस्कृत राजनीति गर्ने विवेकशील साझाजस्तो पार्टीका लागि सुहाउने कुरो नरहेको प्रवक्ता आचार्यले बताउनुभयो ।  

‘पार्टीमा केही कमजोरी छन्’, प्रवक्ता आचार्यले भन्नुभयो, ‘विधानको कुरामा, निर्देशिका बनाउने कुरामा ढिलाई भइरहेको छ, हामी स्वीकार्छौँ तर यो भन्दै गर्दा पार्टीको संयुक्त तहमा रहेका जिम्मेवार नेताले यस्ता मुद्धाहरु उपर पार्टी संयोजकद्वय, पार्टीको समन्वय समिति र पार्टीको केन्द्रीय समितिमा छलफल त गर्नु पर्ने थियो ।’ 

विधिबाहिर रहेर थापाले गतिविधि गर्नुभएकोले यसको उचित राजनीतिक समाधान खोजिने पनि आचार्यले बताउनुभयो । हरेक महिना पार्टीको केन्द्रीय समिति बैठक बस्ने गरेको भन्दै केन्द्रीय समिति बैठकभित्र राख्नुपर्ने कुराहरु सार्वजनिक गर्दै हिँड्दा विधि र पद्धति उल्लंघन भएको र यो थापाको राजनीतिक अपरिपक्वता हो कि भन्ने देखाएको पनि प्रवक्ता आचार्यले बताउनुभयो ।  

 

हेर्नुहाेस् यस्ताे छ थापाले सार्वजनिक गर्नुभएकाे प्रतिवेदन

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया