के होला आजको संसद बैठकमा ?

 माघ ११, २०७५ शुक्रबार ८:४३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकार र प्रतिपक्षी कांग्रेस आआफ्नै अडानमा रहेका कारण मंगलबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा के होला भन्ने चासो बढेको छ । आफ्ना दुई पूर्व सभापतिहरुको नाममा रहेको स्वास्थ्य संस्था केन्द्र मातहतमा राख्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार र मंगलबारको बैठक अवरुद्ध गर्‍याे। सरकारले आफूहरुको माग नसुनेसम्म शुक्रबारको बैठक पनि अवरुद्ध गर्दै संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक पारित हुन नदिने कांग्रेसले बताउँदै आएको छ । 

तर सरकार भने आजको बैठकबाट संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गर्ने रणनीतिमा लागेको छ । प्रमुख प्रतिपक्षी कांग्रेस भने बैठक जसरी पनि अवरुद्ध गरेर विधेयक पारित हुनबाट कसरी रोक्न सकिन्छ भन्ने तयारीमा जुटेको छ । सभामुख कृष्णबहादुर महरालेसमेत शुक्रबारको बैठकबाट शान्तिपूर्ण तरिकाले विधेयक पास गर्ने प्रयास भैरहेको बताइसक्नु भएको छ ।  

विधेयक पास गर्न सभामुख र सरकार लागेको देखिन्छ भने कांग्रेस कुनै पनि हालतमा पास हुन नदिने योजनामा छ । शुक्रबार बस्ने बैठक अघि बढ्ने वा नबढ्ने भन्ने कुरा सभामुख र सरकारमा निर्भर रहेको कांगेसले बताएको छ ।    

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक शुक्रबार बस्ने संसद बैठकले पारित गरेरै छाड्ने दावी गर्नुभएको छ ।  तर कांग्रेस युवा नेता गगन थापाले जबर्जस्ती गर्न खोजे मंगलबारकै जस्तो घटना दोहोरिनेसंकेत गरिसक्नुभएको छ ।  

प्रतिपक्षीलाई देखाइदिन्छु भन्ने सोचले सभामुख पनि सत्तापक्षको लहडमा लागे शुक्रबार बस्ने संसद पनि अवरुद्ध गर्न कांग्रेस बाध्य हुने उहाँले बताउनुभयो । 

कांग्रेसले आफ्ना पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल केन्द्र सरकार मातहतमा नराखेको भन्दै सदन अवरुद्ध गर्दै आएको छ । 

अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलग अलग भएकाले कांग्रेसले संसद अवरुद्ध गर्न आवश्यक नभएको सभामुख महराले समेत बताइ सक्नु भएको छ । कांग्रेसले मंगलबारको बैठकमा गल्ती गरेको भन्दै सभामुखले विधेयक पास हुन दिएर सदनका कारबाही अघि बढाउन सहयोग गर्नु पर्ने बताउनुभयो । 

तर कांग्रेसले अस्पतालको विषयलाई आफ्नो अस्तित्वसँग जोडेको छ । प्रधानमन्त्रीले सदनमा आएर अस्पतालको विषयमा प्रष्ट नपारेसम्म कांग्रेस सदनमा चुप लागेर नबस्ने उसले बताइसकेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्षले विधेयक पारित गरेर बस्दा आफ्ना सांसदहरु गीताको श्लोक वाचन गरेर नफर्कने चेतावनी दिनुभयो । 

सोमबारदेखि संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ । मंगलबार तीन पटक बैठक बस्ने कोशिस हुँदा पनि कांग्रेसकै विरोधका कारण स्थगित हुन पुग्यो ।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गर्दा कार्यसूची अनुसार संसदको कारबाही अघि बढ्न सकेको छैन । यसअघि पुस २२ गते संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे लगत्तै आफूहरुले प्रश्न गर्न पाउनुपर्ने माग गर्दै कांगे्रसले सदन अवरुद्ध गरेको थियो । 

प्रमुख प्रतिपक्षी दल कमजोर भएको आरोप लागिरहेका बेला हिउँदे अधिवेशन सुरु भएसँगै कांग्रेस सरकार विरुद्ध आक्रामक रुपमा उत्रिएको छ ।  

कांग्रेसको तयारी 

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक अघि सरकार र सभामुखले आफूहरुसँग छलफल गर्ने नगर्ने भन्नेबारे कांग्रेस कुरेर बसेको छ । सदन कसरी अघि बढाउने भन्ने कुरा सभामुखको हो, तर सभामा विरोध आइसकेपछि अब त्यसलाई कसरी समाधान गरेर अघि बढ्ने भन्ने विषय सरकारको पनि भएकाले आफूहरुले त्यो कुरेर बसेको कांगेस नेता गगन थापाले बताउनुभयो । नेपाली कांग्रेसको बिहीबार बसेको केन्द्रीय समिति बैठकले सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको भन्दै सदनमा कडा रुपमा प्रस्तुत हुने निर्णय गरिसकेको छ । 

बैठक अगाडि बढाउने सवालमा सभामुख र सरकार दुवै जिम्मेवार भएर आए आफूहरु पनि त्यसमा सहमति खोज्न तयार रहेको नेता थापाले बताउनुभयो । पेलेरै जाने हो भन्ने मनशाय राखेर आए आफूहरु पनि त्यही ढंगले अघि बढ्ने उहाँले बताउनुभयो । ‘समस्या समाधानका लागि कुनै प्रयास नगरी संसद अघि बढाउन खोजे आज पनि रोष्ट्रम घेरिन्छ, बैठक अघि बढ्न दिइँदैन’ उहाँले भन्नुभयो । 

आजको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले सबै सांसदलाई ह्वीप जारी गरेको छ । मंगलबारको जस्तै रोष्ट्रममा पुगेर घेराउ गर्न पर्ने अवस्था आउन सक्ने भन्दै उसले सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन भनेको हो ।  

‘पहिला सभामुखसँगै असहमतिका कुरा राख्ने र त्यति हुँदा पनि प्रतिपक्षीलाई पेल्न खोजे आजको बैठक चल्न सक्दैन,’ थापाले भन्नुभयो ।

सत्तापक्षको तयारी 

सदनमा प्रतिपक्षीले विरोध गर्छ भन्नेमा सरकार जानकार छ । तर पनि सदनमा आफ्नो दुई तिहाई बहुमत रहेको भन्दै उसले जसरी पनि विधेयक पेश गरेर पारित गर्ने रणनीतिमा उत्रेको छ । 

सत्तारुढ दलका नेता योगेश भट्टराईले आजको बैठकले विधेयक जसरी पनि पास गर्ने बताउनुभयो । ‘शुक्रबार बस्ने बैठकमा यो विधेयक पारित हुन्छ’, उहाँले भन्नुभयो, ‘मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पास हुन्छ ।’

सरकार प्रवक्ता गोकुल बाँस्कोटाले पनि जसले जे जे भने पनि विधेयक पास गरेरै छाड्ने बताइसक्नु भएको छ । प्रधानमन्त्री स्विजरल्यान्डबाट फर्किनुअघि नै विधेयक जसरी पनि पास गर्ने गरी सरकार अघि बढेको छ । 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया