कांग्रेसलाई कम आँके सरकार ढालिदिने सिंहको चेतावनी

 माघ २१, २०७५ सोमबार १७:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाण्डौमा प्रर्दशन गरेको छ । 

सरकारले सर्वसत्तावाद र अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न नागरिकलाई आह्वान गर्दै नेपाली कांग्रेसले सोमबार काठमाण्डौमा र्‍यालीसहितको विरोध प्रर्दशन गरेको हो । 

काठमाण्डौको रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भएको कांग्रेसको विरोध प्रर्दशन बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, शहीदगेट, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः रत्नपार्कमा आएर कोणसभामा परिणत भएको थियो । 

विरोध प्रर्दशनका क्रममा कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नारबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । उनीहरुले वाइडबडी विमान खरिदमा ठूलो घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, द्वन्द्वकालीन मुद्दा लागेकाहरुलाई माफी दिनेलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै कांग्रेस नेताहरुले सरकारविरुद्ध आन्दोलनमा होमिन नागरिकलाई आह्वान गरेका थिए । उनीहरुले वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै त्यसको विरोधमा उत्र्न पनि नागरिकलाई अपिल गरे । 

कांग्रेस उपसभापति प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीलाई कमजोर नठान्न चेतावनी दिनुभयो । उहाँले राणा शासन ढालेको, बहुदल ल्याउने तथा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व लिएको आफ्नो पार्टीलाई कमजोर ठान्ने गल्ती गरे नागरिकले वर्तमान सरकारलाई पनि ढालिदिने दावीसमेत गर्नुभयो । नेता सिंहले सरकारले कैलाली घटनाका आरोपी रेशम चौधरीलाई सांसदको सपथ गराएर विधिको शासनको धज्जी उडाएको आरोप पनि लगाउनुभयो ।

कांग्रेसका अर्का नेता राजेन्द्रकुमार केसीले वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार गरेको पुष्टि भएको दावी गर्दै सरकारविरुद्ध आन्दोलनमा उत्रन नागरिकलाई आह्वान गर्नुभयो । उहाँले सरकारले जनताविरोधी काम गरिरहेकाले त्यसको विरोधमा आफूहरुले प्रर्दशन गर्नु परेको पनि बताउनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाण्डौको आह्वानमा आयोजना गरिएको सरकारविरोधी प्रर्दशनमा कम्युनिष्ट नेतृत्वको सरकारले देशमा शान्ति, सुरक्षासमेत दिन नसकेको भन्दै आक्रोश पनि व्यक्त गरिएको थियो 


 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया