सिन्धुपाल्चोक सुकुटे बस दुर्घटना : तीव्र गति र बढी लोड

 कात्तिक १८, २०७६ सोमबार ७:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – तीव्र गति र बढी लोडका कारण सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेको यात्रुहरुले बताएका छन् । घाइतेका अनुसार क्षमताभन्दा बढी लोड गाडी तीव्र गतिमा चलाएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हो । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार दिउँसो भएको दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन् । 

सुनकोशी गाउँपालिका–६ सानुपाखरका घाइते लोकबहादुर थापाका अनुसार भैँसेमा खाना खाएपछि गाडी एकदम तीव्रगतिमा गुडाएको थियो । यता सुकुटे आइसकेपछि घुम्ती जस्तो ठाउँमा एकपटक घटक्क गरेको आवाज सुन्नेबित्तिकै एकैचोटी बल्ड्याङ खाएर गुल्टेको उहाँले बताउनुभयो ।

‘गाडी एक्कासी गुल्टेपछि नदीमा डुब्यो । मचाहिँ सिट पन्छाएर बाहिर निस्केपछि पाँच जनाजति महिला र पाँच जना बच्चालाई तानेर निकालेँ । त्यसपछि आफैँ श्वास फेर्न नसकेपछि फर्केर हेर्दा आफ्नै श्रीमती पनि छट्पटिएर बसेकी रहिछ’, उहाँले भन्नुभयो, ‘बल्लबल्ल उनलाई तानेर बाहिर ल्याएर माथि आएपछि ट्रकमा चढेर अस्पताल आएको हुँ ।’

दुर्घटनामा ज्यान गुमाउने १७ जनामध्ये  १४ जनाको परिचय खुलेको प्रहरीले जनाएको छ । ज्यान गुमाउने १७ जनामा ६ बालक, ३ बालिका, १ पुरुष र ७ महिला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार ज्यान गुमाउनेमा दोलखा जिल्ला शैलुङ–६ की ५२ वर्षीया चेतकुमारी बस्नेत, शैलुङ–४ का छ वर्षीया सलिना तामाङ, शैलुङ–३ का तीन महिनाका बालक रोशन तामाङ, शैलुङ–३ कै २७ वर्षीया चमेली श्रेष्ठ रहेकी छिन् । 

त्यसैगरी ४५ वर्षीया रत्नकुमारी रावत, २९ वर्षीय किरण रावत, २० वर्र्षीया कविता रावत र १४ वर्षीय निखिल खड्का शैलुङ–५ का रहेका छन् । शैलुङ–४ का १४ वर्र्षीय दिल लामा, शैलुङ–३ का ३२ वर्षीया निर्मला खड्का, काभ्रेपलाञ्चोक रोशी–४ की पाँच वर्षीया सजिना तामाङ, दोलखाका ७० वर्षीया उरमाया तामाङ र भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसीको पनि ज्यान गएको छ । 

त्यस्तै सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी–४ की ६ वर्षीया माया श्रेष्ठ र तीन जना बालकको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेकाको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिरहेका छन् । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएको प्रहरीको भनाइ छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । 

केही शवहरु खोलाले बगाएको अनुमान गरिएको छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो । बसमा ४० बढी सवार रहेका थिए । सिन्धुपाल्चोकको स्थानीय अस्पताल खाडीचौरमा २० जनाको उपचार भइरहेको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ । गम्भीर घाइतेलाई काठमाण्डाै लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई) भुपाल खत्रीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उहाँले अहिले पनि उद्धारकार्य जारी रहेको जानकारी दिनुभयो । 

घाइतेहरूको नामावली

दुर्घटनामा निशा तामाङ, एकरानी कार्की, छत्रकुमारी थापा, सुनिल थापा जीवन खड्का, समीर श्रेष्ठ, मिनकुमार श्रेष्ठ, सङ्गीता श्रेष्ठ, जेनिशा श्रेष्ठ, सदीक्षा कार्की, सुरेश तामाङ, सहनशीला घिसिङ र कौशिला कार्की रहेको प्रहरीले जनाएको छ । 

प्रविन आलेमगर, बबिता श्रेष्ठ, कोपिला कार्की, हरिमाया थापा, सीमा कार्की, युनिसा खड्का, मनिका खड्का, कमला मोक्तान, डोल्मा तमाङ, श्रीकृष्ण कार्की, शिशिर तामाङ र सुनिता तमाङ घाइते भएका छन् ।

त्यसैगरी शसीता तामाङ, युनिसा तामाङ, रश्मी बस्नेत, सविता थापा, निरक श्रेष्ठ, रविन मोक्तान, निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तमाङ, जीतबहादुर खड्का र लोकबहादुर थापा, रोमन तिमल्सिना, विमला तामाङ, दीपा घिसिङ, रोमा घिसिङ, सुजन तामाङ, गोमा श्रेष्ठ र सुकमान विक रहेका छन् । घाइते ४७ जनामध्ये ४७ तीन जनाको नाम खुल्न सकेको छैन ।

–राससको सहयोगमा 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया