पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
दुब्लो शरीर, चाउरी परेको अनुहार, निधारमा सानो रातो टीका । आँखा डिलका छाला पनि खुम्चिएका । गाला भने अझै पनि पुक्कपुक्क । रङ राखेर कालो बनाइएको कपाल ।
ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया नानीमैयाँ श्रेष्ठलाई शरीरको बनावटले बुढेसकालको झल्को दिन्छ । उमेरले पनि बृद्धभत्ता खाने बनाइसक्यो । तर तन जे भए पनि उहाँको मनलाई भने अझै बुढ्यौलीले छोएको छैन । अझै धेरै कुरा गर्ने उच्च मनोबल छ, उहाँसँग ।
लेखपढ गर्ने रहरले छोडेकै छैन । मनले औपचारिक शिक्षाको डिग्री २०३०/०३५ सालमा नै देखेको हो । तर, जीवनका बाध्यताले डिग्रीको प्रमाणपत्र हात परेन । नानीमैयाँको भित्री मनमा गडेको रहर त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहले पूरा गरेको छ ।
गाँठो परेर पनि खुम्चिसकेको जिन्दगीको एउटा रहर पूरा हुँदा मन फुरुङ्ग छ । गएको हप्ता भएको दीक्षान्त समारोहमा गुलाबी साडी र गुलाबी स्वेटरमा सजिएर ललितपुरको पुल्चोकमा रहेको नेपाल इञ्जिनियरिङ क्याम्पसको प्राङ्गणमा पुग्दा उहाँ जिन्दगीको सबैभन्दा खुसी हुनुभयो ।
पहेँलो फुर्का भएको कालो टोपी, गाउनसँग जोडिएको गुलाबी र पहेँलो रङ मिसिएको स्काफले उहाँको अनुहार धपक्क बलेको थियो । स्नातकोत्तर तह उत्तीर्ण भएको सन्तुष्टी प्राप्त गर्न विशेष समारोहमा पुग्दा उहाँको अनुहारभन्दा मन बढी खुसी थियो । त्यही मनको खुसी बाँड्न उहाँ हाँस्नुभयो । खाँस्दा ओठ तन्किए, गाला खुम्चिए, तर उहाँको खुसी तन्किरह्यो ।
एउटी खुसी हजुरआमालाई समारोहमा भेट्दा धेरैले सोधे, ‘यो उमेरमा दीक्षित ?’ उहाँले जवाफ दिनुभयो ‘मेरो रहर पूरा भयो ।’ अभिभावकको रुपमा आफ्नी छोरीलाई दीक्षान्त समारोहमा लिएर जाँदा श्रेष्ठलाई थप रमाइलो भएको थियो ।
वि.सं. २०३४ सालमा स्नातक तह उत्तीर्ण गरेर दीक्षित हुन जाँदा उहाँ एक्लै जानुभएको थियो । यसपटक अरुले आफ्ना बुवाआमालाई लैजाँदा ७० वर्षकी श्रेष्ठले आफ्नी कान्छी छोरीलाई अभिभावक बनाएर लैजानुभयो । ‘मलाई यो ठाउँसम्म ल्याउन परिवारको सहयोगले सम्भव भएको हो’ श्रेष्ठले हाँस्दै सुनाउनुभयो ।
पढाइको भोक
‘सानैमा स्कुल जान्छु भन्दा बुवाले छोरीले किन पढ्ने ? आखिरी विवाह गरेर जानैपर्छ भन्नुहुन्थ्यो ।’ उहाँ भन्नुहुन्छ, ‘तर मैले आफ्नो पढ्ने सपना पूरा गरेरै छाडेँ । स्नातकोत्तर तह उत्तीर्ण गर्ने मेरो सपना आज पूरा भएको छ’, ।
वि.स २००६ सालमा ललितपुरको गावाहालमा जन्मनुभएकी श्रेष्ठलाई दाजु स्कुल गएको देखेपछि स्कुल गएर दाजुजस्तै पढ्न मन लाग्यो । सुरुमा बुवाले मान्नुभएन । तर ढिपी गरेपछि बुवाले १० वर्षको उमेरमा केटी मात्रै पढ्ने स्कुल आदर्श कन्या निकेतनमा भर्ना गरिदिनुभयो । स्कुल खुलेको केही समय मात्र भएकाले दुई कक्षापछि सिधै पाँच कक्षा पुर्याइयो । त्यही स्कुलबाट २०२४ सालमा एसएलसी पास गर्नुभयो । श्रेष्ठ सम्झनुहुन्छ, ‘कक्षा २ पछि सिधै ५ कक्षामा पुर्याइए पनि मेरो पढाइ ठिकै थियो, सरासर एसएलसी पास भएँ ।’
एसएलसी पास गरियो तर आइए पढ्ने बेलामा फेरि बुवाले छोरीले किन पढ्नुपर्र्यो ? भन्नुभयो । तर श्रेष्ठको जिद्दीपछि बुवाले केटासँग बोल्न नपाउने शर्तमा पाटनढोकामा रहेको पाटन क्याम्पस भर्ना गरिदिनुभयो ।
कक्षाका कोही पनि केटासँग नबोलीकनै पढ्नुभयो । २०२८ सालमा आईए उत्तीर्ण गर्नुभयो । त्यसपछि शिक्षाको भोक झनै बढ्यो । विवाह गरेपछि जे होला, तर त्यसअघि भने पढाइ नछाड्ने अडान लिएपछि पाटन क्याम्पसमै स्नातक तहमा भर्ना हुनुभयो । पढाइकै क्रममा २०३१ सालमा विवाह भयो ।
२०३२, २०३४ र २०३६ सालमा दुई छोरी र एक छोरा जन्मिए । सुत्केरी हुँदा पनि उहाँले पढाइ छाड्नु भएन । २०३४ सालमा स्नातक तह उत्तीर्ण गर्नुभयो ।
तर, त्यसपछि स्नातकोत्तर तह सक्ने रहर पूरा गर्न पाउनुभएन । घरव्यवहार र छोराछोरीको हेरचाहमा जेलिएपछि उहाँको स्नातकोत्तर तह पास गर्ने सपना अधुरै रह्यो । आफू पढ्न नसके पनि २०४० सालदेखि पढाउन थाल्नुभयो । बिहानको घरधन्दा सकेर तीन सन्तानसँगै श्रीमान र आफू घरबाट निस्कनुहुन्थ्यो । बेलुकी छोराछोरी स्कुलबाट लिएर घर पुगेपछि फेरि उही काम । सघाउने कोही थिएन । छोराछोरी ठूला हुँदै गए, तर उहाँको दैनिकी फेरिएन । २०६६ सालसम्म घरको धन्दा र प्राध्यापन चलिरह्यो ।
२०५९, २०६४ र २०६६ सालमा छोराछोरीको विवाह गरिदिनुभयो । २०६६ सालमा शिक्षण सेवाबाट सेवानिवृत्त पनि हुनुभयो । अनि फेरियो दैनिकी ।
बिहान मन्दिर गएर फर्किएपछि केहीबेर योग गर्ने अनि ७ बजेतिर चिया पिएपछि बिस्तारै खाना पकाउने । खाना खाइसकेपछि घरका अरु काम गरेर फुर्सद भएपछि किताब पढ्ने । पढ्नको लागि समय निस्कन थाल्यो ।
अझ २०६९ सालमा छोरा र २०७० सालमा बुहारी पनि अष्ट्रेलिया गएपछि घरमा श्रेष्ठ दम्पती मात्रै । दिन पट्यार लाग्न थाल्यो । पत्रपत्रिका र पुस्तक पढ्नुहुन्थ्यो । त्यही क्रममा स्नातकोत्तर तह पढ्ने भोक फेरि जाग्यो । श्रीमानलाई सोध्नुभयो ।
‘यो उमेरमा ?’ श्रीमानको प्रश्न भुईँमा खस्न नपाउँदै उहाँले आत्मविश्वासका साथ भन्नुभयो, ‘सकिन्छ नि मेरो रहर छ ।’ श्रीमतीको रहरमा श्रीमानको सहमति जुट्यो ।
अनि स्नातक तह सकिएको ३७ वर्षपछि २०७१ सालमा नानीमैयाँ श्रेष्ठ पाटन क्याम्पसमा नेपाल भाषामा स्नातकोत्तर तहमा भर्ना हुनुभयो । बिहान ६ बजे घरको सबै काम सकेर हिँड्दै पाटन क्याम्पस जाने अनि फर्किएर खाना पकाएर खाएपछि घरका अरु काम सकेर क्याम्पसमा सिकेका कुरा अध्ययन गर्ने उहाँको दैनिकी बन्यो ।
आपूmभन्दा आधाभन्दा कम उमेरका भाइबहिनीसँग कक्षाकोठामा रमाउन थाल्नुभयो । किजा पासा (भाइ साथी) र केहेँ पासा (बहिनी साथी) भनेर उनीहरुसँग नोट साटासाट गर्नुभयो । कक्षाकोठामा सरले पढाएका कुरा ध्यान दिएर सुन्ने अनि कापीमा टिपोट गर्न थाल्नुभयो । २०७५ सालमा स्नातकोत्तर तह पास गरेर आफ्नो सपना पूरा गर्नुभयो ।
क्याम्पस भर्ना भएको थाहा पाएपछि आफन्तले नै भनेका थिए, ‘बुढेसकालमा पनि किन पढेको ? यो उमेरमा पढेर के गर्छाै ?’
त्यतिबेला नानीमैयाँले जवाफ दिनुहुन्थ्यो, ‘केही काम गर्नु छैन । किनभने मैले काम गर्नको लागि पढेकै होइन । पहिले काम गर्न पढेको भए अर्कै हुन्थ्यो । तर, त्यतिबेला सकिनँ । अहिले रहरले पढेकी हुँ ।’
‘औपचारिक पढाइ नगरे पनि लेख्ने पढ्ने काम त कहिल्यै सकिँदैन’, श्रेष्ठ भन्नुहुन्छ, ‘इच्छाशक्ति र लगन भए जे पनि गर्न सकिन्छ । पढ्नको लागि उमेरले छेक्दैन । इच्छा भएपछि उमेरले छेक्दैन । मैले आँटे, त्यो आँट अहिले सफलतामा रुपान्तरण भएको छ ।’
रहरले नै आफूलाई ४५ औं दीक्षान्त समारोहमा पुर्याएको श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले पढेर के गर्छाै भनेर सोध्नेहरु म दीक्षित भएपछि तिमीले त सक्यौ, आँट गरेपछि नहुने र नसकिने केही रहेनछ भनेर भन्न थालेका छन् ।’
नानीमैयाँ उमेरमै औपचारिक शिक्षाको पढाइ छोड्ने धेरैकी प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँले पढाइ कसैले रोकेर रोक्न नसक्ने कुरा प्रमाणित गर्नुभएको छ ।
बिहे गरेपछि फसें, पढ्न सकिनँ भन्ने दिदीबहिनीलाई उहाँको पढ्ने रहरले अझ पढ्न प्रेरित गर्नेछ । भनिन्छ नि, ‘जहाँ इच्छा त्यहाँ उपाय’ । हो तपाईं इच्छा गर्नुहोस् उपाय केही न केही मिलिहाल्छ । यो उमेरमा पेटको होइन, जीवनको एउटा ठूलो भोक भेट्ने ७० वर्षीया ‘डिग्री’ हजुरआमालाई बधाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Pidit Buhari
Jan. 6, 2020, 2:02 p.m.छोरा आज पनि अस्ट्रेलियामा दु:ख गर्दै हुनुहुन्छ / नेपाल बस्दा छोरा बुहारी र नातिले दु:ख पायौं /अष्ट्रेलिया आउनु छोराको बाध्यता थियो /मैले यिनको नातीलाई माइती मै हुर्काएं / यो खबर पढेपछि छोराको आँखामा खुशी ल्याउने प्रयत्न गर्दैछु /