पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – न पोखरीमा पानी, न रानीजस्तै रुप । नाम मात्रै रानीपोखरी । पानी र रुपबिनाको रानीपोखरीलाई पहिलेजस्तै सुन्दर बनाउनको लागि काम सुरु भएको पनि आउँदो माघ २ गते चार वर्ष पुग्दैछ ।
रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नुहुने राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति भएको पनि दुई वर्ष पुग्नै आँटेको छ । भूकम्प गएकै वर्ष २०७२ सालको कात्तिकमा उहाँ राष्ट्रपति बन्नु भएको थियो । त्यसपछि माघ २ गते उहाँले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नु भयो ।
भण्डारी २०७४ साल फागुनमा दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुनु भयो । पहिलो र दोस्रो पटक गरी भण्डारी राष्ट्रपति भएको पनि चार वर्ष बित्यो । तर रानीपोखरीमा भने अहिलेसम्म पानी भरिएको छैन ।
रानीपोखरीमा अलमलिएको चार वर्ष
काठमाण्डौ महानगरपालिकालाई जिम्मेवारी दिएर रानीपोखरीकाे शिलान्यास भएको थियो । पुनर्निर्माण महाअभियानको सुरुवात नै रानीपोखरीबाट गरिएको हो । रानीपोखरी र रानीपोखरीकै बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि राष्ट्रपति भण्डारीले इँटा राख्ने काम गर्नु भयो । तर त्यसपछिका तीन वर्षसम्म अरु इँटा थपिएन ।
घाँसे मैदान, फोहोर तथा भत्केका संंरचनाले रानीपोखरी झनै विरुप हुँदै गयो । बालगोपालेश्वर मन्दिरमा पनि इँटा राख्ने र निर्माण कम्पनीले राखेका केही इँटा फाल्ने क्रम चल्यो । तीन वर्षसम्म महानगरपालिकाले काम गरेन, बरु उल्टै विवादमा अल्झियो । पुरातत्वविद्, स्थानीयवासी र सम्पदाप्रेमीले विरोध गरेपछि काम अघि बढ्न सकेन । महानगरपालिका, पुरातत्व र सम्पदाविद्को आ–आफ्नै अडानले पुनर्निर्माणको काम ओझेलमा पर्याे ।
काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच रानीपोखरीको कामलाई लिएर विवाद भयो । सम्पदामा आधुनिक निर्माण सामग्री रड, सिमेन्ट, बालुवा जस्ता कन्क्रिट प्रयोग भएपछि मेयर र उपमेयरबीच विवाद भएको थियो । महानगरपालिका, तत्कालीन ठेकेदार कम्पनी वर्ल्डवाइड कँडेल केएन जेभी र पुरातत्व विभागबीच विवाद भएपछि काम रोकियो ।
त्यसबेला रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा गरी झण्डै चार करोड रुपैयाँसमेत खर्च भइसकेको थियो । अनि अघिल्लो वर्ष माघमा सरकारले महानगरपालिकाबाट जिम्मेवारी खोस्यो । त्यसपछि फागुनदेखि मात्रै रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माण प्राधिकरण आफैले जिम्मा लिएर काम सुरु गर्ने निर्णय भयो । अनि बल्ल रानीपोखरीमा काम सुरु भयो ।
प्राधिकरण आफैले प्रकृयाअघि बढाएपछि रानीपोखरी बन्ने आश पलायो । आउँदो माघ २ गते २२ औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी भइरहँदा रानीपोखरीमा पानी राख्ने सुरसार नै छैन । बालगोपालेश्वर मन्दिर पनि बनि सकेको छैन । यी दुई वटै सम्पदा पुनर्निर्माणको चरणमा छन् ।
भूकम्पपछि ध्वस्त रानीपोखरी, बालगोपालेश्वर मन्दिर र रानीपोखरीको बीचमा रहेको मन्दिर जाने पुल बनाउने काम एकैसाथ भइरहेको छ ।
निर्माण व्यवसायीले बालगोपालेश्वर मन्दिर, पुल र पोखरीबाहिरको भाग सुन्दर बनाउने तथा उपभोक्ता समितिले पोखरीमा पानी अड्याउने कामको जिम्मेवारी पाएका छन् । झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी पुनर्निर्माण हुँदैछ ।
बालगोपालेश्वर मन्दिरको काम
निर्माण व्यवसायी सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते प्राधिकरणले मन्दिर, पुल र पोखरीबाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । सम्झौताअनुसार १० महिना अर्थात् आउँदो चैतभित्र ठेकेदारले काम सक्ने जिम्मेवारी पाएको छ । सम्झौतापछि पुरानै जगमा मन्दिर बनाउने काम सुरु भएको हो । भूकम्पले भत्केको बालगोपालेश्वर मन्दिरको जग चलाइएको छैन । बन्दै गरेको मन्दिरमा १६ वटा काठका खम्बा छन् ।
‘१९९० सालको भूकम्पपछि मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण गरिएको हुन सक्छ’ प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले भन्नुभयो, ‘त्यसबेला आठ वटा मात्रै खम्बा भएको अनुमान गरिएको छ तर अब भूकम्प आउँदा नढलोस् भनेर बन्दै गरेको मन्दिरमा १६ वटा काठको खम्बा राखिएको छ ।’
बितेका सात महिनामा मन्दिरको आधा काम भइसकेको छ । ‘मल्लकालीन शैलीअनुसार मन्दिर ‘ग्रन्थकुट’ अर्थात् ‘शिखर’ शैलीमा नै बनिरहेको छ’ मानन्धरले भन्नु भयो । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।
पुलमा भइरहेको काम
रानीपोखरीको पश्चिमबाट मन्दिरसम्म जोड्ने पुल बनाउने काम पनि भइरहेको छ । पुलको झण्डै दुई तिहाइ काम सकिएको छ । ठेकेदार कम्पनीका तर्फबाट काममा खटिएका देवरत्न महर्जनका अनुसार इँटाको अभावले काम सुस्त भएको छ ।
रानीपोखरीमा दचिअपा र माअप्पा इँटाको प्रयोग भइरहेको छ । पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरी पुनर्निर्माणको काम हेरिरहनु भएका मानन्धरका अनुसार दचिअपा र माअप्पा इँटाको नेवारी नाम हो । ‘मल्लकालीन रातो इँटालाई दचिअपा भनिन्छ । त्यस्तै धेरै प्रयोग हुँदै आएको इँटालाई माअप्पा भन्ने गरिएको छ’, मानन्धरले भन्नुभयो ।
ठेक्का सम्झौताअनुसार मन्दिर, पुल र पोखरीबाहिरको काम सक्न अब तीन महिना मात्रै बाँकी छ । तर पोखरी बाहिरको काम बाँकी नै छ भने मन्दिर र पुलको काम आधा मात्रै भएको छ । मन्दिर र पुलको काम सन्तोषजनक भए पनि पोखरी सजावटको काममा ढिलासुस्ती भएकाले प्राधिकरणको तर्फबाट निर्माण कम्पनीलाई छिटो गर्न दबाब दिएको मानन्धरले बताउनु भएको छ ।
रानीपोखरीको पोखरीमा भइरहेको काम
पोखरी बनाउन झण्डै ६० जना कामदार खटिएका छन् । उपभोक्ता समितिले पोखरीको पिँध र वरिपरिको पर्खाल बनाउने जिम्मेवारी पाएको छ । भक्तपुरका कालीगढले पोखरीमा पानी अड्याउन पिँधमा कालीमाटीको लेप लगाइ सकेका छन् । अहिले पर्खालमा गोकर्णबाट ल्याइएको माटो लगाउने काम भइरहेको छ । त्यसपछि इँटा राख्ने तयारी छ ।
अहिलेसम्म पोखरीमा झण्डै ४६ प्रतिशत काम सकिएको छ । १० करोड रुपैयाँमा काम थालेको उपभोक्ता समितिले झण्डै साढे चार करोड रुपैयाँ खर्च गरिसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सम्पदा पुनर्निर्माणमा उपभोक्ता समितिले १० करोड रुपैयाँसम्मको काम गर्न सक्ने नियम बनाएको छ ।
पोखरीमा कालीमाटी र इँटा
रानीपोखरीमा कालीमाटी, बालुवा र इँटा प्रयोग हुन्छ । अहिले माअप्पा इँटा ओछ्याउने काम भइरहेको छ । पानी अडिने सतहमा कालीमाटी र पुरानो इँटा राखिँदैछ । पोखरीबाट १२ सय ट्रक माटो फालिएको छ । त्यति नै मात्रामा कालो माटो चाहिन्छ । पुरानो पोखरीमा कालो माटो र त्यसमाथि बालुवा थियो । अहिले तल कालो माटो, त्यसमाथि बालुवा र इँटा राखिन्छ । माघसम्ममा यो काम सक्ने तयारी छ ।
पानी खसाल्ने भाका सर्याे
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गएको भाइटीकामै पोखरीमा पानी खसाल्ने भनेको थियो । पोखरीको बीचमा बनिरहेको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन मात्रै खुल्छ । तर लक्ष्यअनुसार काम नहुँदा तोकेको अवधिमा पानी खसाल्ने काम हुन सकेन ।
प्राधिकरणले विगतमा रानीपोखरीमा अलमलको अवस्था हुँदा सोचेअनुसार काम अगाडि बढ्न नसकेको र अब निर्धारित समयभित्रै काम सकिने दाबी गरेको छ । ‘पुरानो समयको निर्माण सामग्री अहिले उत्पादन गर्नुपर्ने अवस्थाले काम ढिलो भयो’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नु भयो, ‘रानीपोखरीमा आवश्यक पर्ने इँटा उत्पादन गर्न व्यवसायीलाई अनुरोध गर्नु पर्ने अवस्थाले ढिलाइ भयो, अब आउँदो वैशाखसम्म काम सकिन्छ ।’
माघ दोस्रो हप्ताभित्रै कसरी भरिएला पानी ?
रानीपोखरीको सबै काम वैशाखसम्म सके पनि पोखरीमा माघ दोस्रो हप्तासम्ममा पानी राख्ने तयारी छ । प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार पानी अड्याउने पर्खालको काम १५ प्रतिशतमात्रै बाँकी छ । ‘रानीपोखरी वरपरको पर्खालमा ८५ प्रतिशत काम भइसकेको छ, माटो र इँटा बिछ्याउने काम पनि ४६ प्रतिशत भइसक्यो’, उहाँले भन्नु भयो ।
अहिले पोखरीमा पानी छैन । तर पोखरीमा पानी अड्याउने राख्ने माटोको भने यसअघि नै परीक्षण भइसकेको छ । अस्थाइ दुई वटा पोखरी बनाएर पानी अडिन्छ या अडिँदैन भनेर परीक्षण गरिएको थियो । यो परीक्षण सफल भएकाले अब पानी अडिनेमा शङ्का गर्नु नपर्ने मानन्धरले बताउनु भयो । पोखरीमा कृत्रिम तरिकाबाट पानी राख्ने प्राधिकरणको तयारी छ । पोखरीमा पानी भर्न चार वटा विकल्प सोचिएको छ ।
१) प्राकृतिक स्रोतबाट पानी भर्ने
२) डीप बोरिङ गर्ने
३) टुँडिखेलको इनारबाट भर्ने
४) मेलम्चीको पानी खसाल्ने
माघमा रानीपोखरीमा पानी नभरिने निश्चितजस्तै छ । किनभने पोखरी र पर्खालको काम माघ दोस्रो हप्ताभित्रमै सकिने छाँट छैन । अर्को प्राधिकरणले अगाडि सारेका चार विकल्पमध्ये पहिलो विकल्प प्राकृतिक स्रोतबाट पानी भर्ने हो भने माघमा पोखरी नै भरिने गरी ठूलो पानी पर्दैन ।
अरु दुई वटा विकल्प डीप बोरिङ र इनारबाट पानी तान्ने हो । प्राधिकरणले दुई वटा बोरिङका लागि दुई सय मिटर खन्ने तयारी गरेको छ । तर पोखरीमा झण्डै तीन करोड लिटर पानी चाहिने अनुमान छ । यति धेरै पानी बोरिङ र इनारबाट तानेर भर्न सकिनेमा प्राधिकरण नै ढुक्क छैन । अनि टुँडिखेलमा भएको इनारबाट पानी तान्न नेपाली सेनाको पनि सहमति चाहिन्छ । सेनाले सहमति त देला तर इनारको पानीले पोखरी कसरी भरिएला भन्ने शङ्कै छ ।
चौथो विकल्प मेलम्चीको पानीका लागि कहिलेसम्म कुर्नु पर्ने हो टुङ्गो छैन । मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम भइरहेको छ । अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी काम गरिरहेको छ । टनेलको काम ९० प्रतिशत र हेडवर्क्सकाे काम ६० प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ ।
रानीपोखरीमा मेलम्चीको पाइप राखिएको छ । मेलम्चीको पानी काठमाण्डौ आइपुगे मात्रै पाइपबाट रानीपोखरीमा पानी झर्नेछ ।
प्राधिकरणले भनेजस्तै माघ दोस्रो हप्तासम्म रानीपोखरीमा पानी भरिहाल्ने अवस्था अहिलेसम्म बनिसकेको छैन । अनि रानीपोखरीमा पानी नभरिएसम्म पुनर्निर्माणको काम सकियो भन्न पनि मिल्ने अवस्था पनि छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।