२८ महिनापछि साउदीको जेलबाट छुटे प्रेम, परिवारमा छायो खुशी

 साउन १९, २०७५ शनिबार १०:५६:२४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – लामो समयसम्म जेलमा रहँदा कसलाई पो पीडा हुँदैन र ? त्यो पनि परदेशमा । त्यही पीडापछिको खुशी बोकेर इलामका प्रेम बहादुर राई (राजु) आइतबार नेपाल आउँदै हुनुहुन्छ । इलामको माई नगरपालिका वडा नम्बर ४ का राई दुई वर्ष चार महिना जेल जीवन बिताएर नेपाल आउने हुनु भएको हो । 

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमार्फत कम्पनीले तोकेको बिगो रकम भुक्तान भएपछि राई आइतबार नेपाल फर्कर्ने हुनु भएको हो ।

प्रेम साउन २० गते (५ अगष्ट) आइतबार बिहान साउदी अरबको समय अनुसार ६ बजे दिल्ली हुँदै ४ः१५ बजे काठमाडौं आइपुग्ने प्रेम बचाऊ अभियान मूल समितिले जानकारी दिएको छ  ।

राईले चलाएको लरीले बोकेको केबल तार चोरी भएपछि त्यस बापतको क्षतिपूर्ति रकम ३ लाख १० हजार रियाल (९५ लाख नेपाली रुपैयाँ) भुक्तान गर्न कम्पनीले माग गरेको थियो । पैसा बुझाउन नसक्दा कम्पनीले मुद्धा हालेपछि उहाँ साउदीको जेलमा कष्टकर जीवन बिताउन बाध्य हुनु भएको थियो । 

नेपाली राजदूतावासको समन्वयमा गठित ‘प्रेम बचाऊ अभियान’बाट संकलन भएको रकमबाटै बिगो रकम साउदी रियाल अनुसार १ लाख ५० हजार (४३ लाख ३ हजार ५ सय ) रकम बुझाएपछि कम्पनीले जेल मुक्त गरी नेपाल पठाउने भएको ‘प्रेम बचाऊ अभियान मूल समिति’ की संयोजक अनिता राईले बताउनुभयो ।  


उहाँले भन्नुभयो, ‘विभिन्न सामाजिक सञ्जालबाट अनुरोध गरी प्रेम बचाऊ अभियान समिति नै गठन गरी चलाएका थियौँ । देश, विदेशबाटै सहयोग रकम संकलन गरिएको थियो ।’ प्रेमको रिहाईपछि एक हप्ता भित्रमा छुट्टै प्रेस कन्फरेन्स गर्ने, प्रेम , मूल समिति र सञ्चारकर्मीबिच प्रेसमिट गरेर खर्च विवरण देखाउने राईले जानकारी दिनुभयो । बाँकी रकम के गर्ने भन्ने विषयमा समेत त्यही छलफल गरिने उहाँले बताउनुभयो । 

बिगो रकम नबुझाइ रिहाई नहुने भएपछि प्रेमको रिहाईको लागि २०७३ असारबाट नै पहल थालिएको थियो । प्रेम बचाऊ अभियान मूल समिति बनाएर १ वर्ष अघिबाट नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेर सहयोग रकम संकलन गर्न सुरु गरिएको थियो । सबैबाट साथ सहयोग जुटेपछि पारिवारिक पुनर्मिलन गराउन सफल भएको समिति संयोजक राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रेमलाई नेपालको त्रिभूवन विमानस्थलमा स्वागत गर्न मूल समिति काठमाडौंका सम्पूर्ण सदस्य, प्रेमकी श्रीमती, छोरा, छोरी र बुवा आमाको समेत उपस्थिति हुने गरी हामीले खबर गरीसकेका छौँ ।’ 

प्रेम कसरी परे साउदी जेलमा ?

प्रेम सन् २०१२ जुन १२ तारिकका दिन क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लरी) चालकको रुपमा साउदी जानु भएको थियो । सन् २०१५ सेप्टेम्बर ४ तारिखका दिन घर आइ पुनः २०१६ जनवरी १ तारिखका दिन उहाँ त्यही कम्पनीमा कामका लागि जानु भएको थियो ।

२०१६ मार्च ३१ तारिखका दिन लरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङ स्थलमा रोकी साथीलाई भेट्न जानु भएको थियो । साथी भेटेर फर्कँदा पार्किङ गरेको ठाँउमा गाडी नभेटेपछि कम्पनीलाई जानकारी गराउनु भएको बताइएको छ । 

कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबीसहित  अदालतमा मुद्धा हालेको थियो । अदालतले तोकेको २ महिना कैद र ५० कोर्राको सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिइ पुनः मुद्धा हालेर ३ लाख १० हजार रियाल (नेपाली ९५ लाख) क्षतिपूर्ति दाबी गरेको थियो । क्षतिपुर्ती बुझाउन नसक्दा उहाँ गएको २८ महिनादेखि साउदी प्रहरीको नियन्त्रणमा हुनुहुन्थ्यो ।

परिवारमा खुशी 

प्रेमकी श्रीमती सरिता राई खोसिएको खुशी फेरि फर्किएको छ भन्नुहुन्छ, ‘म, बुवाआमा मात्र होइन छोरी राशिकाको समेत खुशी उचालिएको छ ।’ छोरो रिसिभले भने बुवालाई नचिन्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘प्रेम बचाऊ अभियान मूल समितिले बोलाएको छ । हामी शनिबार काठमाडौं जादैछौँ ।  सहयोगी मनका सम्पूर्णमा आभार प्रकट गर्छौँ ।’ 

यो पनि पढ्नुहोस् । 

साउदीको जेलमा करोडको दाउमा प्रेमबहादुर

साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया