गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायकको जागिर खोसियो

 साउन २६, २०७७ सोमबार १०:२४:५० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा त्रिवेणी गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायक जागिरबाट निकालिएका छन् । त्रिवेणी गाउँपालिकाका लेखा सहायक सुवास केसीलाई जागिरबाट निकालिएको हो ।

केसीले सरकारी बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेपछि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा गठन गरेको छानबिन कार्यदलले केसीलाई जागिरबाट निकाल्ने निर्णय गरेको हो। 

छानबिनको क्रममा केसीले आफ्नो, आफ्नो श्रीमती र लेखा सहायक सुवासको खातामा झण्डै २५ लाख रुपैयाँ जम्मा गरेको पाइएको छ ।  

केसी गएको जेठ महिनादेखि गाउँपालिकाको लेखा सहायकमा करारमा नियुक्त भएका थिए । गाउँपालिकामै कार्यरत सुवासका अंकलसमेत रहेका लेखापाल हेमन्त केसीको सहयोगमा आफ्नो  खातामा मात्रै गाउँपालिकाको सात लाख ९१ हजार रुपैयाँ रकम जम्मा गरेका थिए । 

लेखापाल केसीले सुवासको तलब र भत्ताको लागि भन्दै गाउँपालिकामा जवाफ दिएका थिए । जेठ महिनामा करारमा नियुक्त भए पनि उनले फागुनदेखि नै महिनाको १ लाख ५६ हजारका दरले तलब र भत्ता बुझेको देखिएको कार्यदलले जनाएको छ । 

कार्यदलले लेखापालको नाममा गएको रकमको कागजात हेर्ने र जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन सुरु गरेकाले छानबिनमा सहयोग गर्ने निर्णय गरेको कार्यदलका सदस्य तथा गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्टले बताउनुभयो ।  

छानबिन हुँदै गर्दा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनकी श्रीमती बिर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता गरेका थिए । रकम आफन्तको खातामा हाल्ने लेखापाल र त्यस काममा सघाउँने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत मिलोमतो भएको भन्दै कारबाही हुनुपर्ने माग स्थानीयले गर्दै आएका छन् । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया