राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका ३ वटा गाडी प्रदर्शनीकाे लागि संग्रहालयमा

 साउन ११, २०७९ बुधबार १७:५९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नारायणहिटी दरबार संग्रहालयमा राजाहरुले प्रयोग गरेका थप तीन वटा गाडी नागरिकका लागि प्रदर्शनीमा राखिएका छन् ।

बुधवार राजा त्रिभुवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गर्नुभएका थप तीन वटा गाडी प्रदर्शनमा राखिएको हो । पुराना गाडीको भौतिक मर्मत र रङरोगन गरेर सर्वसाधणका लागि प्रदर्शनीमा ल्याइएको छ । प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्व राजपरिवारले प्रयोग गरेका सबै सामान व्यवस्थित रुपमा अवलोकनको लागि खुला गर्ने नीतिअनुसार आज तीनवटा गाडी प्रदर्शनीमा राखिएको बताउनु भयो ।

उहाँले स्व.राजा त्रिभूवन र महेन्द्रलाई उपहारस्वरुप प्राप्त भएको र उहाँको परिवारले प्रयोग गर्नुभएको गाडीहरु आजदेखि नागरिकले अवलोकन गर्न पाउनेगरी खुला गरेको बताउनु भयो । सचिव न्यौपानेले आगामी दिनहरुमा पनि यहाँ थप सामग्रीहरु अवलोकनका लागि राख्दै जाने बताउनु भयो । संग्रहालयलाई थप व्यवस्थित बनाउन बजेट छुट्याइएको र संग्रहालय दरबार संग्रहालयकै रुपमा सञ्चालन हुने प्रतिवद्धता जनाउनु भयो । 

त्यस्तै नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकृत बुद्धि गुरुङले फोर्ड क्यानेडियन कम्पनीद्वारा निर्मित राजा त्रिभूवनले प्रयोग गरेको गाडी प्रदर्शनीमा राखिएको बताउनु भयो । उहाँले राजा महेन्द्रले प्रयोग गरेको गाडी पनि प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । उहाँले राजाहरुले प्रयोग गरेका ४० वटा गाडी रहेको उल्लेख गर्दै आगामी दिनमा सबै गाडीलाई प्रदर्शनीमा राखिने बताउनु भयो । 

आजबाट प्रदर्शनमा राखिएका तीन वटा गाडी राजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्नुभएका गाडी हुन् । एउटा त्रिभुवनले काठमाण्डौमा शिकार खेल्ने बेलामा प्रयोग गरिएको हो भने अर्को त्रिभुवनको राजपरिवारका लागि प्रयोगमा ल्याइएको थियो । त्यस्तै अर्को गाडी भने स्व. राजा महेन्द्रले प्रयोग गर्नुभएको थियो । जसलाई आजबाट नारायणहिटी दरबारमा नागरिकलाई अवलोकन गर्नका लागि प्रदर्शनीमा राखिएको छ ।  
 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया