विभागले नै ताला लगाएको सल्लेरीको एक फार्मेसीले खुलेआम औषधि बेच्दै

 वैशाख ५, २०८० मंगलबार १२:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु - औषधि व्यवस्था विभाग विराटनगरले ताला लगाएको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषधि पसलले खुलमखुला औषधि बिक्री गरिरहेको पाइएको छ ।

विभागले गएकाे चैत्र २३ गते गरेको अनुगमनको क्रममा विभिन्न कमजाेरी औँल्याइ तत्काललाई औषधि बिक्री गर्न रोक लगाउँदै ताला लगाएको सल्लेरी मेडिकल हलले अहिले निर्बाध रुपमा औषधि बिक्री गरिरहेको पाइएको हो ।

अनुगमनको क्रममा करिब ४ वर्षदेखि फार्मेसी नवीकरण नगरेको तथा औषधि पसलबाटै निर्माण सामग्रीदेखि किराना सामान समेत राखेर बिक्री गरेको पाइएकाले औषधि पसलमा विभागले ताला लगाएको थियो । सबै सामग्रीहरु एकै ठाउँ राखेर बिक्री गर्न नपाउने प्रावधान भए पनि सल्लेरी मेडिकल हलले त्यसको पटक पटक अवज्ञा गर्दै एकै ठाउँबाट सबै सामग्री बिक्री गरिरहेको पाइएको विभागले जनाएको छ ।

कमजाेरी सुधार गर्न पटक पटक समय दिँदा समेत अटेर गरेकाले विभागमा नै उपस्थित हुन ७ दिने अल्टिमेटमसहित चैत्र २६ गते औषधि पसलतर्फको द्वारमा ताला लगाइएको फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले बताउनुभयो । साथै फार्मेसीले २०७५ सालपछि दर्ता समेत नवीकरण नगरेको पाइएको विभागले जनाएको छ । तर औषधि पसलतर्फको ढोकामा ताला लगाए पनि अर्को तर्फको ढोका प्रयोग गरी फार्मेसीले औषधि बिक्री गरिरहेको तथ्य फेला परेको हो ।

यता विभागले भने फार्मेसी सम्पर्कमा समेत नआएको बताएको छ । फार्मेसीको नवीकरण समेत फेल भइसकेको र आफूहरुले पसल सञ्चालक भगवती गुरुङ (बज्राचार्य) लाई पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएको औषधि व्यवस्था विभागका प्रमुख टेकेन्द्र मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामीले पटक पटक सचेत गराउँदा समेत सल्लेरी मेडिकल हलले हटेर गरेको छ, नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने छुट कसैलाई छैन यो गर्न पाइँदैन । औषधि पसलको लाइसेन्स चुस्तदुरुस्त भएको खण्डमा त्यहीअनुसार कारबाही प्रकया अघि बढ्थ्यो अब त्यो अवस्था पनि भएन, यस्तो अवस्थामा अब प्रहरीको सहायता लिएर सञ्चालकलाई नै पक्राउ गर्न लगाउनुको विकल्प छैन। हामी त्यही अनुसार अघि बढ्छौँ ।’

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया