खोटाङकाे रावाबेसीका महिलालाई राडीपाखी बन्न चर्खा र कोरेसो वितरण

 भदौ १६, २०८० शनिबार १३:९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङको रावाबेसी गाउँपालिकाले राडीपाखी पेसा अपनाउँदै आएका गुरुङ समुदायका महिलालाई चर्खा र कोरेसो वितरण गरेको छ ।

पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दैआएका गुरुङ महिलाको व्यावसायिक विकासमा टेवा पुर्‍याउने लक्ष्यकासाथ गाउँपालिकाले पाँच लाख रुपैयाँ बराबरको ५० थान चर्खा र १७० थान कोरेसो वितरण गरेको हो ।

भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई चर्खा र कोरेसो वितरण गरिएको रावाबेसी गाउँपालिकाका उपाध्यक्ष कौशिला गुरुङले बताउनुभयो । 

रावाबेसी गाउँपालिका–१ कुभिन्डे गोपिनीका राडीपाखी व्यवसायी महिलालाई पाँच थान चर्खा र १२ थान कोरेसो, रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीका महिलालाई छ थान चर्खा र १२ थान कोरेसो, रावाबेसी गाउँपालिका–५ दुवेकोलका महिलालाई नौ थान चर्खा र २६ थान कोरेसो र रावाबेसी गाउँपालिका–६ हौंचुरका राडीपाखी व्यवसायी महिलालाई ३० थान चर्खा र ४३ थान कोरेसो वितरण गरिएको छ । 

गाउँपालिकामा राडीपाखीको काम गरिरहेका १ सय ७० जना महिला व्यवसायीलाई एक/एक थान कोरेसो उपलब्ध गराइएको छ । चर्खा भने दुई तीन जनाले सामूहिक रुपमा चलाउन पाउनेगरी वितरण गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो । राडीपाखीको काम गरिरहेका राई, भुजेल, मगरलगायतका समुदायका महिलालाई पनि चर्खा र कोरेसो वितरण गरिएको छ । 

विशेषगरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने काम गर्दैआएका छन् । कतिपय गुरुङ परिवारले राडीपाखी बुनेर आएको आम्दानीबाटै घरखर्च टार्ने गरेका छन् । राडीपाखी व्यवसाय गुरुङ समुदायको नगद हात लाग्ने मुख्य पेसा हो । जिल्लाको हौंचुर पोखरी र चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुईपा, साब्रु, बाक्सिला लगायतका ठाउँमा बसोबास गर्ने गुरुङ समुदायले पुर्खादेखि चल्दैआएको पेसा अपनाउँदै आएका छन् । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया