श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कपको फाइनलमा

 भदौ २६, २०८० मंगलबार २३:२५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।

आज मङ्गलवार कोलम्बोमा भएको 'सुपर फोर' को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हरायो । भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो । 

श्रीलङ्काका लागि दुनिथ वेलालेगेले नटआउट ४२ रन बनाए । यस्तै धनन्जय डी सिल्भा ४१ रन बनाएर आउट भए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ तथा हार्दिक पान्ड्या र रवीन्द्र जडेजाले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे भारत ४९ ओभर १ बलमा २ सय १३ रन बनाउँदा अल आउट भयाे । भारतका लागि कप्तान राेहित शर्माले सर्वाधिक ५३ रन बनाए । यस्तै केएल राहुलले ३९, ईशान किशनले ३३ र अक्षर पटेलले २६ रन बनाए ।

बलिङतर्फ श्रीलङ्काका २० वर्षीय बलर दुनिथ वेलालेगेले ५ विकेट लिए । वेलालेगेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे पटक ५ विकेट लिएका हुन् । यस्तै चरिथ असलन्काले ४ र महीश थीकशानाले १ विकेट लिए । भारतकाे १० विकेट नै स्पिनरले लिए ।

भारतले अब सुपर फोरको अन्तिम खेलमा शुक्रवार बङ्गलादेशसँग खेल्नेछ । फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो बिहीवार हुने पाकिस्तान र श्रीलङ्काबीचको खेलबाट लाग्नेछ । यो खेलमा जित्ने टोली फाइनलमा पुग्नेछ । यदि वर्षाका कारण खेल नभएमा श्रीलङ्का नेट रनरेटमा अघि रहँदै फाइनलमा पुग्नेछ । बङ्गलादेश भने दुवै खेल हार्दै बाहिरिसकेको छ । फाइनल खेल आइतवार हुनेछ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया