कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
बाँके - डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दु र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला शुरु भएको छ । हिन्दु र मुस्लिम समुदायले मिलेर मनाउने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन् ।
कम्मर शाह बाबा मेलामा सबै धर्ममा आस्था राख्नेहरुले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्त्व रहेको डुडुवा गाउँपालिका–५का वडाध्यक्ष झङ्कबहादुर थापाले बताउनु भयाे । उहाँका अनुसार चार दिनसम्म सञ्चालन हुने मेलामा हिन्दु, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकाङ्क्षा राख्ने गरेका छन् । यहाँ राखेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
मेलामा बाँके र बर्दियाका नागरिकसँगै सीमावर्ती भारतकाे बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा राजेन्द्र विश्वकर्माले बताउनुभयो । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि हजरत बाबा कम्मर शाह मेला महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा पर्ने हजरत कम्मर शाह बाबा मजार हिन्दु र मुस्लिम समुदायको आस्था र सद्भावको धरोहरको रुपमा छ ।
डुडुवा गाउँपालिका–५ मा हिन्दु र मुस्लिम धर्मावलम्बीको बसोबास छ । कम्मर शाह बाबाले सयौँ वर्ष पहिले यस ठाउँमा कुटी बनाएर बसेको र कम्दीलगायतका गाउँबाट गाईभैँसी चराउन आउने यादव समुदायका मानिससँग घुलमिल हुँदै गएको स्थानीय अगुवा शकील अहमद खाँले बताउनुभयो ।
कम्मर शाह बाबाको मजारमा पनि मुस्लिम, यादवलगायत विभिन्न समुदायका मानिसले प्रत्येक वर्ष च्यादर ओढाउने, भाकल गर्ने लगायत गर्दै आएका खाँको भनाइ छ ।
मेलाको उद्घाटनमा पूर्वमन्त्री मोहम्मद इस्तेयाक राई, लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवलगायतले हजरत बाबा कम्मर शाह मेलाको महत्त्वबारे चर्चा गर्नुभएको थियो । मेलामा यो वर्ष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला समिति अध्यक्ष सगीर खानले जानकारी दिनुभयो । उहाँका अनुसारनवदुर्गा युवा क्लबले मेलामा आजदेखि डुडुवा गाउँपालिकास्तरीय नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्न लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।