सामाजिक सुरक्षामा एक लाख ४८ हजार श्रमिक समेटिए, कोषमा ६५ करोड जम्मा

 फागुन ८, २०७६ बिहिबार १७:१०:४४ | उज्यालो सहकर्मी

काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या झण्डै डेढ लाख पुग्न लागेको छ ।

बुधबार साँझसम्म १२ हजार १९० रोजगारदाता र एक लाख ४८ हजार ८०९ श्रमिक सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । सूचीकृत हुनेमा सबैभन्दा धेरै वाग्मती प्रदेशबाट एक लाख ८ हजार २३२, प्रदेश १ बाट २१ हजार ३२१, प्रदेश २ बाट आठ हजार ९७६, गण्डकी प्रदेशबाट पाँच हजार २४७, प्रदेश ५ बाट चार हजार ३९४, कर्णाली प्रदेशबाट १७२ र सुदूरपश्चिम प्रदेशबाट ४६७ जना योगदानकर्ता रहेका छन् ।

यस्तै, कोषमा वाग्मती प्रदेशबाट ८ हजार १६३, प्रदेश १ बाट १ हजार ८६०, प्रदेश २ बाट ४८४, गण्डकी प्रदेशबाट ५५६, प्रदेश ५ बाट ८७५, कर्णाली प्रदेशबाट १२१ र सुदूरपश्चिम प्रदेशबाट १३१ रोजगारदाता सूचीकृत भएका छन् ।

अहिलेसम्म कोषमा ६५ करोड ६१ लाख रुपैयाँ जम्मा भएको छ । कोषमा ७४ जिल्लाका रोजगारदाता र श्रमिक सूचीकृत भएका छन् । अझै दुई जिल्लाका रोजगारदाता र श्रमिक कोषमा समेटिएका छैनन् ।

कोषबाट सेवा सुविधा लिने योगदानकर्ताको संख्या पनि बढ्दै गएको कोषले जनाएको छ । अहिले औषधि उपचार, स्वास्थ्य तगा मातृत्व सुरक्षा योजना अन्तर्गत ४५ जनाले सेवा लिइरहेका छन् । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ६ जना, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ६ जना र ७ जनाले उपदान लिएको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया