१० घण्टापछि खुल्यो पूर्व–पश्चिम राजमार्ग, सुदूरपश्चिम यातायात समितिका सवारी भने रोकिए

 मंसिर ३, २०७५ सोमबार १८:८:२९ | भावुक योगी
unn.prixa.net

बर्दिया – पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने बर्दियाको भुरिगाउँ नजिक सोमबार बिहान बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै ज्यान गएपछि अवरुद्ध भएको राजमार्ग झण्डै १० घण्टा पछि खुलेको छ ।

पीडितका आफन्त र स्थानीवासीले उचित क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्गको भुरिगाउँ खण्ड बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अवरुद्ध गरेका थिए । क्षतिपूर्तिका सम्बन्धमा छलफल गर्न सुदूरपश्चिम यातायात समितिका पदाधिकारी घटनास्थलमा नआएपछि आफन्त र स्थानियवासीले बिहानैदेखि सडक ठप्प पारेका थिए ।

साँझ पर्न लाग्दा समेत समितिका पदाधिकारी घटनास्थल नआएपछि यात्रुको सहजताका लागि अन्य समितिबाट सञ्चालन भएका गाडी खुल्ला गरिएको हो । बालिकाको शव घटनास्थलबाट उठाएर नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय भरिगाउँका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताउनुभयो ।

घटनालाई बेवास्ता गरेको भन्दै सुदूरपश्चिम यातायात समितिबाट सञ्चालन भएका सवारी साधनलाई भने अझैँसम्म पनि चल्न दिइएको छैन । समितिका पदाधिकारी छलफल गर्न नआउञ्जेल सुदूरपश्चिम यातायातका कुनै पनि गाडी चल्न नदिने स्थानीय दिपेन्द्र बुढाले जानकारी दिनुभयो ।

सुदूरपश्चिमका बाहेक अन्य गाडी खुल्ला गर्ने सहमति भएपछि मात्र आफन्तले बालिकाको शव उठाउन दिएका थिए । सुदूरपश्चिम यातायात समितिसँग क्षतिपूर्तिका सम्बन्धमा सहमति नहुञ्जेलसम्म बालिकाको शव नेपालगञ्जको अस्पतालमा बरफमा राख्ने आफन्तले बताएका छन् ।

सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम राजमार्ग यात्रा गर्ने यात्रु दिनभर अलपत्र परेका थिए । अवरुद्ध सडक खुलाउन प्रहरीले पटक पटक प्रयास गरे पनि सफल भएको थिएन । कालिकोटबाट कैलालीको टीकापुरतर्फ गइरहेको ना ४ ख ५३७५ नम्बरको बसले सोमबार बिहान ७ बजेतिर गुडिरहेको साइकलमा ठक्कर दिँदा साइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका ६ बकुवाकी १४ वर्षीया बालिका निर्मला चौधरीको घटनास्थलमै ज्यान गएको थियो ।

ज्यान गुमाएकी बालिका भुरिगाउँ बजारस्थित भेरी पब्लिक शिक्षालय कक्षा ९ मा अध्ययनरत थिइन् । बस समितिसँग पीडित पक्षले २० लाख रुपैयाँको माग गरेका छन् । बालिकाका आफन्त र स्थानीयवासीले परिवारलाई राहत, विद्यालयमा बालिकाको नाममा अक्षय कोष खोल्नु पर्ने र चालकलाई कडा कानुनी कारबाहीको माग गर्दै सडक अवरुद्ध पारेका थिए ।

बालिकालाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया