मन्त्रिपरिषद्का तीन मुख्य निर्णय : १८ देशमा राजदूत सिफारिस, तीन वटा प्रदेशमा प्रमुख फेरिए, २२ जना सचिव सरुवा

 साउन १५, २०८१ मंगलबार ७:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – सरकारले विभिन्न १८ देशका लागि राजदूतको सिफारिस गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताकाअनुसार मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अमेरिका, बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनी, पोर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो सोमवार बसेको बैठकले भारतमा शंकर शर्मालाई निरन्तरता दिँदै चीनमा कृष्णप्रसाद ओली र अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको हो । मन्त्री गुप्ताकाअनुसार बैठकले विभिन्न पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने समेत निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, श्रीलङ्काका वासुदेव मिश्र, दक्षिण अफ्रिकाका दानबहादुर तामाङ, रुसका मिलन तुलाधर र अस्ट्रेलियाका राजदूत कैलाश पोखरेललाई फिर्ता बोलाउने निर्णय पनि गरेको हो । अघिल्लो सरकारले जेठ २४ मा भारत र अमेरिकालगायत ११ देशका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय गरेको थियो ।

त्यसपछि असार ७ मा विभिन्न ८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । तर, ओली सरकारले अघिल्लो सरकारबाट सिफारिस भएका राजदूतमा फेरबदल गरेको हो । औपचारिक रुपमा राजदूत नियुक्तिका लागि गरेको सिफारिस सार्वजनिक भइसकेको छैन ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले बाग्मती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुखसमेत नियुक्त गरेको छ । बैठकले बाग्मतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । देवकोटा एमालेका तथा घर्ती र जोशी कांग्रेस नेता हुनुहुन्छ ।

बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषद्ले २२ जना सचिवको सरुवासमेत गरेको छ । बैठकले अर्थसचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको छ । उहाँ राजस्व सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो । राजस्व सचिवमा वाणिज्य मन्त्रालयबाट दिनेशकुमार घिमिरेलाई पठाइएको छ ।

अर्थ सचिव मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । सञ्चार सचिवमा उपराष्ट्रपति कार्यालयमा रहेकी राधिका अर्याललाई पठाइएको छ । गृह मन्त्रालयमा भने एकनारायण अर्याललाई यथावत् राखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

सङ्घीय मन्त्रालयमा भरत सुवेदीलाई लगिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमिका गोकर्णमणि दुवाडीलाई तथ्याङ्क कार्यालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामेश्वर दंगाललाई रक्षा सचिवमा पठाइएको छ भने रक्षाका किरण शर्मालाई प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा सचिवमा सरुवा गरिएको छ भने ऊर्जा आयोगका केशवकुमार शर्मा विडारीलाई भौतिक मन्त्रालयको सचिव बनाइएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको छ ।

नेपाल ट्रस्टमा रहेकी प्रमिला देवी बज्राचार्यलाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने सतर्कता केन्द्रमा रहेका राम आधार साहलाई नेपाल ट्रस्टमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय पठाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ । मधुसुदन बुर्लाकोटीलाई वाणिज्य सचिवमा सरुवा गरिएको छ । लोक सेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

लोक सेवामा प्रधानमन्त्री कार्यालयबाट डिल्लीराम शर्मालाई पठाइएको छ भने श्रम तथा रोजगार मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियारको सचिवमा पठाइएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया