पूर्वउपरथी डा.रमीन्द्र क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक

 साउन १९, २०८१ शनिबार ११:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नेपाल सेनाका पूर्वउपरथी डा.रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ । हिजो सुनधाराको आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उहाँको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षासमेत गरिएको थियो ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पुस्तकका सम्पादक रामचन्द्र फुयाल, पत्रकार टीकाराम यात्रीले पुस्तकमाथि समीक्षा गर्नुभएको थियो । दश वर्षे सशस्त्र द्वन्द्वका समयमा २०६० साल भदौ ११ गते क्षत्रीमाथि तत्कालीन विद्रोही माओवादीका लडाकुले आक्रमण गर्दा उहाँ घाइते हुनुभएको थियो । गोली प्रहारबाट स्पाइनल कर्ड इन्जुरी भएपछि उहाँले सधै ह्वीलचियरको जीवनयापन गर्न बाध्य हुनुहुन्छ । 

क्षत्रीले सेनामा सेवामा ४० वर्ष भोगेका अनुभवदेखि आफ्ना जीवनमा आइपरेका उतारचढावलाई समेटेर पुस्तक निकालिएको फुयालले बताउनुभयो । जीवन सुन्दर छ, किताबको शीर्षकजस्तै आत्मकथामा लेखकको इमानदारीता झल्किएको उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार यात्रीले जीवनदेखि निराश हुनेका लागि क्षत्रीको आत्मकथा प्रेरणादायी कृति हुने सुनाउनुभयो । पुस्तकमा लेखकले जतिसुकै कठिनाई आइपरे पनि जीवन सकारात्मक कार्यबाट सुन्दर बनाउन सकिने उदाहरण दिनुभएको बताउनुभयो ।

सेनापति शर्माले भने क्षत्रीको सेनामा सेवावृत्त हुँदादेखि नै सक्रिय र सिर्जनात्मक स्वभाव रहँदै आएको विगत स्मरण गराउनुभयो । उहाँका इमानदारी, प्रष्ट वक्ता र क्रियाशीलता प्रशंसनीय रहेको बताउनुभयो ।

लेखक क्षत्रीले पुस्तकमा आफ्नो पुर्खाले राज्यमा दिँदै आएको योगदानदेखि, बाल्यकाल अवस्था, सेनामा सेवारत हुँदाका अनुभव र शारीरिक रुपले असक्त भएपछि जीवनमा आएका उतारचढावका विषय आत्मकथामा समेटेको सुनाउनुभयो । यात्रा पब्लिसिङ हाउसले पुस्तक प्रकाशनमा ल्याएको हो । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया