बङ्गलादेशमा विकसित घटनाक्रमपछि नेपालमा पनि उच्च सुरक्षा निगरानी

 साउन २२, २०८१ मंगलबार ७:५१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – बङ्गलादेशमा विकसित घटनाक्रमपछि नेपालमा पनि उच्च सुरक्षा निगरानी बढाइएको छ । नेपालले सुरक्षा व्यवस्थामा थप कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको हो । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो ।

केन्द्रीय सुरक्षा समिति बैठकको निर्देशनअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले अहिले तैनाथ सुरक्षाकर्मीसँगै थप बल परिचालनगरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार विदेशी नागरिक जथाभावी देशभित्र प्रवेश हुन नपाउन् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइएको हो ।

विमानस्थल तथा देश भित्रिने र बाहिरिने नाकाका साथै विशेष गरी तराई र भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई चुस्त रहन र सम्भावित जोखिम आँकलन गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशनसमेत दिइएको छ ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्य देशबाट मानिसको घुसपैठ हुन सक्नेतर्फ सतर्क रहँदै सीमा क्षेत्रमा जनशक्ति थपगरी सुरक्षा तैनाथी बढाइएको र उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

बङ्गलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि हिजो प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाड्नुभएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया