आज विश्व अल्जाइमर्स दिवस : ‘डिमेन्सिया र अल्जाइमर्सलाई जानौं’ भन्ने नाराका साथ मनाईंदै

 असोज ५, २०८१ शनिबार ७:११:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विश्व अल्जाइमर्स दिवस : ‘डिमेन्सिया र अल्जाइमर्सलाई जानौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा विभिन्न चेतनामूलक कार्यक्रम गरी अल्जाइमर्स दिवस मनाउने गरिन्छ ।

अल्जाइमर्स रोगको एक प्रमुख कारण डिमेन्सिया हो । जसलाई हामी बिर्सिने रोग भनेर पनि बुझ्ने गर्छौँ । बुढेसकालमा धेरैलाई सताउने अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । नेपालमा अल्जाइमर्सका बिरामीको यकिन तथ्याङ्क नभए पनि जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यो रोगका बिरामी पहिचान हुने क्रम भने बढ्दो छ ।

नेपालमा झन्डै १० वर्षअघि ७८ हजार मानिस बिर्सिने समस्याबाट ग्रसित रहेकोमा सन् २०३० मा यो सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ । बिर्सने समस्याले अस्पताल पुगेर जाँच गर्नेमध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिन्छ । विभिन्न अध्ययनले देखाएअनुसार जेनेटिक्सका साथै धूमपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमा पटकपटक लागेका चोटले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्न सक्ने जोखिम बढ्दो छ । तर रोगको बारेमा जानकारी नहुँदा बिरामी ढिला गरी अस्पताल पुग्ने गरेकोले उपचार गर्न कठिनाइ पर्ने गरेको डाक्टरहरु बताउँछन् ।

शुरुवाती चरणमा नै थाहा पाएपनि धेरैजसोले उपचारको आवश्यकता महसुस नगर्दा रोग बिस्तारै बढ्ने र थप जटिलता आउने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा कार्यरत अल्जाइमर्स रोगका विशेषज्ञ डा.रमेश कँडेल बताउनुहुन्छ ।

अल्जाइमर्स दीर्घरोग हो, जसले मष्तिष्कमा बिस्तारै क्षय गराउँछ । यसबाट बिरामीमा स्मरण शक्तिका साथसाथै सोच्ने क्षमता, अरू काममा समस्या आउने गर्छ । मुख्य लक्षण नै बिर्सने समस्या भएकाले मानिसको दैनिक दिनचर्यामा नै बाधा हुन्छ । यो रोग लागिसकेपछि पूर्ण रूपमा निको पार्न पनि सकिँदैन । त्यसैले हरेक कुरामा परिवारका सदस्य र आफन्तको नै भर पर्नुपर्छ । अझ त्यसमाथि अरू पनि दीर्घ रोग छन् भने त अझ बढी निगरानी गर्नुपर्ने डा. कँडेलको सुझाव छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया