देशका धेरै ठाउँमा उखरमाउलो गर्मी, तराईका सबैजसो जिल्लाकाे तापक्रम ३५ डिग्रीभन्दा माथि

 असोज ७, २०८१ सोमबार १६:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – तराई मधेशका जिल्लामा गर्मी अत्यधिक बढेको छ । आज दिउँसो तराई मधेशका जिल्लामा रहेका सबैजसो मापन केन्द्रहरूले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै देखाएका छन् ।

यस्तै ललितपुरको खुमलटारमा दिउँसो अधिकतम तापक्रम ३२ दशमलव सात डिग्री सेल्सियस पुगेको छ । मध्य पहाडका उपत्यका तथा खोँचहरूमा रहेका धेरै ठाउँमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि मापन भएको छ ।

सामान्यतया असोज लागेपछि गर्मी निकै कम हुनुपर्नेमा यो वर्ष केही दिनदेखि गर्मी बढेको तराई मधेशका बासिन्दा बताउँछन् । गर्मी निकै बढेपछि महोत्तरीको मनरा शिसवा नगरपालिकाले नगरभित्रका विद्यालयहरूमा आजदेखि ६ दिनका लागि बिदा दिएको छ । अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस आपपासमा रहेकाले विद्यालय बिदा गरेको प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिनुभयो । असोज लागेपछि बढेको गर्मीले सरकारी कार्यालयमा सेवाग्राही घट्नुका साथै हाटबजार, गाडी र व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको शर्माले बताउनुभयो ।

केही दिनदेखि मनसुन न्यून चापीय रेखा दक्षिणतिर सर्दा पानी नपरेकाले तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसोसम्म गर्मी उस्तै रहने र दिउँसोपछि घट्ने सम्भावना छ । भोलिदेखी पूर्वी भेगमा मनसुन सक्रिय हुने भएकाले तापक्रम घट्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

जलवायु विज्ञ डा. ङमिन्द्र दाहाल पछिल्ला केही वर्षदेखि नै मनसुनमा केही पछिसम्म तराई मधेशमा गर्मी बढी महसूस हुँदै आएको बताउनुहुन्छ । तराईमा ताप सोस्ने ठूला पानी पोखरी, सिमसार क्षेत्र र हरियाली हराउन थालेसँगै गर्मी बढेको उहाँले बताउनुभयो । यस्तै कालोपत्र गरिएका सडक, सिमेन्ट–कङ्क्रिटका घरलगायतका कारण तराई मधेशसहित शहरी क्षेत्रमा गर्मी बढी महसूस भएको उहाँले बताउनुभयो । भोलिदेखि वर्षा हुने लक्षण देखिएकोले गर्मी घट्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया