काम थालेकाे ७ वर्षपछि कालीगण्डकीमाथि पक्की पुल

 कात्तिक ११, २०८१ आइतबार १८:२९:० | रासस
unn.prixa.net

तस्वीर : रासस

बागलुङ – कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने याे पुल बनाउन शुरू गरेकाे झन्डै सात वर्षपछि निर्माण सम्पन्न भएको हो ।

पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुशी भएका छन् ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रूपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो । पोखराबाट गलकोटसम्मको सडक तयार हुँदा कालीगण्डकी नदी वारपार गर्न बन्दै गरेको पुल सात वर्षपछि सम्पन्न भएको हो । निर्धारित समयमा काम सक्न प्राविधिक र भौगोलिक कारण कारक बन्दा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले विं.सं. २०७३ असोज ९ गते सम्झौता गरेको ठेक्काको काम ढिला गरी सकिएको हो । याे पुलको पूर्वतर्फको खण्डमा सडकले जोड्न बाँकी छ । पहरो परेकाले झन्डै ५० मिटर सडक नयाँ बनाउनुपर्ने छ । यो सडक बनेपछि मङ्सिरभित्र मोटर गुड्नेछ, ठेकेदार कम्पनीका प्रतिनिधि नीलकुमार राईले भन्नुभयो ।

पश्चिम किनारमा कालीगण्डकी करिडाेर कालोपत्र हुँदै गरेको र पूर्वी किनारमा कुश्मा–फलेबास सडक कालोपत्र भइसकेकाले यो पुल तत्कालै प्रयोगमा आउने उहाँले बताउनुभयो ।

पुल निर्माण सकिएको छ । अब लिङ्क रोडको काम एक महिनामा सक्छौँ, राईले भन्नुभयो, भुक्तानीका लागि डिजाइन परिवर्तन भएको पत्र पाएका छैनौँ । नदीमा पायल फाउन्डेशन विना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले डिजाइन परिवर्तन गरेको थियो । त्यहीअनुसारको भुक्तानी स्वीकृति नभएको बताउँदै डिजाइन परिवर्तन गर्नुपरेकाले तीन पटकसम्म म्याद थप्नुपरेको उहाँले जानकारी दिनुभयो ।

जैमनी नगरपालिका–१ जैमिनीधामबाठ पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने एक सय मिटर लामो मोटरेबल पुल सम्पन्न भएपछि स्थानीयलाई आवागमनमा सहज हुने भएको छ । यो पुलले पोखरासम्म जाने नयाँ मार्गको ढोका खोलेको छ, जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले भन्नुभयो, यहाँका बासिन्दालाई अब पोखरा जान झन्डै ३० किमी दूरी छोटो पर्छ । मध्यपहाडी लोकमार्गबाट करिडोर हुँदै पोखरा पुग्ने विकल्पका रूपमा यो मार्ग प्रयोगमा आउने उहाँले बताउनुभयो ।

गएकाे असारमा अन्तिम म्याद थप भए पनि मङ्सिरसम्ममा काम सकेर हस्तान्तरण हुनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । पुलको भौतिकतर्फ ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको भन्दै वित्तीयतर्फ भने ८६ प्रतिशत मात्रै भुक्तानी भएको उहाँले बताउनुभयो ।

प्रसिद्ध जैमिनीधामबाट पर्वतको फलेबास–कार्कीनेटा, स्याङ्जाको पुतलीखेत हुँदै पोखरा जोड्ने यो वैकल्पिक र छोटो मार्ग हो । १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ रुपैयाको लागतमा यो पुलको सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया