राजावादीको हिंसात्मक आन्दोलनमा एक सयभन्दा धेरै पक्राउ, क्षतिको विवरण सङ्कलन हुँदै

 चैत १६, २०८१ शनिबार १५:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिजो काठमाण्डौमा भएको हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेका छन् । तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले संलग्न भएकाहरूलाई पक्राउ गरिरहेको हो । पक्राउ पर्नेहरुमा रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, विवादास्पद धर्मगुरु पुष्कर खतिवडा लगायत छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डाै, मातहतका वृत्तहरू, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी कार्यालयका प्रहरी परिचालन गरेर पक्राउ गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरू सीसीटीभी फुटेज, भिडिओ, फोटो लगायतमा देखिएकाहरू हुन् । को माथि कस्तो मुद्दा चलाउने भन्ने निर्णयका लागि छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार भएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ । यस्तै प्रहरीसहितको टोलीले क्षतिको मूल्याङ्कन पनि गरिरहेको छ । बिहान गृहमन्त्री रमेश लेखकले पनि स्थलगत अवलोकन गर्नुभएको छ । आज अवस्था सामान्य रहे पनि निगरानी भने बढाइरहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार हिजो भएको प्रदर्शनमा नेपाल प्रहरीका ५३ जना र सशस्त्र प्रहरीका २४ जना घाइते भएका छन् । यस्तै ३५ जना प्रदर्शनकारी घाइते भएका छन् । एक जना पत्रकार र एक जना प्रदर्शनकारीको ज्यान गएको छ । सात वटा सरकारी र नौ वटा नीजि गाडीमा क्षति पुगेको छ । १४ ठाउँमा आगजनी, आठ ठाउँमा तोडफोड र एक ठाउँमा लुटपाट भएको छ ।

आन्दोलन समितिका संयोजक नवराज सुबेदीले विज्ञप्ति निकालेर प्रहरीको दमनका कारण अप्रिय घटना भएको दाबी गरेका छन् । राप्रपाले रवीन्द्र मिश्र र धवलसमसेर राणाको भूमिकाप्रति आपत्ती जनाउँदै पार्टीको बैठक बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उच्च न्यायिक छानविन आयोग गठन गर्न माग गरेको छ । कांग्रेस, एमाले र नेकपा माओवादी लगायतका दलहरुले हिंसात्मक कार्यमा संलग्नहरुलाई कारबाहीकाे माग गरेका छन् । यसैबीच गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून अनुसार कारबाही हुने बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया